कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक नपाएको भन्दै फागुन २५ गतेदेखि आन्दोलित भएका छन ।
दुई महिनादेखि पारिश्रमिक नपाएको भन्दै विशेषज्ञ करार सेवा अन्र्तगतका ५८ जना स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन ।
०७७ फागुन मसान्तभित्र पारिश्रमिक नदिए आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने पनि उनीहरूले चेतावनी दिएका छन् ।
फागुन मसान्तभित्र पारिश्रमिक उपलब्ध गराउनु पर्ने माग राखेर कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुर्खेत र अस्पताल निर्देशक डाक्टर डम्मर खड्कालाई यसअघि ज्ञापन पत्र बुझाइएको ल्याव टेक्नेसियन भक्तबहादुर विसीले बताउनु भयो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्रयाप्त वजेट प्राप्त नहुँदा विशेषज्ञ करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पारिश्रमिक दिन नसकिएको प्रदेश अस्पतालका निर्देशक खड्काले बताउनु भयो ।
सामाजिक विकास मन्त्रालय तथा अन्य श्रोत जुटाएर पुस महिना सम्मको पारिश्रमिक दिइएपनि माघ महिना यताको पारिश्रमिक उपलब्ध गराउन नसकिएको उहाँले जानकारी दिनुभयो ।
विशेषज्ञ सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पारिश्रमिक उपलब्ध गराउन प्रदेश सरकारसँग पटक पटक ताकेता गर्दा पनि बजेट प्राप्त नभएको निर्देशक खड्काको भनाई छ ।
प्रदेश सरकार गठन भएसँगै विशेषज्ञ सेवा विस्तार निर्देशिका मार्फत प्रदेश अस्पतालमा उनीहरूलाई करार सेवामा राखिएको थियो ।