महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी फागुन २४ गते प्रदेश २ अन्तर्गतका जिल्लाहरूमा मनाइएको छ ।
प्रदेश २ समाजिक विकास मन्त्रालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोगलगायतका संस्थाहरूको संयुक्त आयोजनामा फागुन २४ गते जनकपुरमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
बिहान जानकी मन्दिरको प्राङ्गणबाट निकालिएको र्याली जनकचोक हुँदै नेपाल बार एसोसिएशनको हलमा पुगी सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले महिलाको हक अधिकार सुनिश्चित भए मात्र महिला दिवसको सार्थकता हुने बताउनु भयो ।
महिला र पुरुषबिचको समझदारीले मात्रै महिलामाथिको हिंसाको अन्त्य हुने र समतामूलक समाजको निर्माण हुने मन्त्री साहले उल्लेख गर्नु भयो ।


सप्तरी प्रतिनिधि मनोहर पोखरेलका अनुसार इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, जिल्ला प्रहरी कार्यालयसहितका संस्था सम्मिलित मूल समारोह समितिले फागुन २४ गते राजविराजमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
कार्यक्रममा राजविराज–६ की ज्येष्ठ नागरिक मेनकादेवी पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
महिलामाथि हुने सबै प्रकारका हिंसा वा विभेद अन्तको लक्ष्य पूरा गर्न राज्य र गैर राज्य पक्ष ठोस रुपमा अघि बढनु पर्ने वक्ताहरूले बताउनु भयो ।



रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार चन्द्रपुर नगरपालिकाको आयोजना तथा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूको समन्वयमा चन्द्रनिगाहपुरमा फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएकोे छ ।
चन्द्रपुर नगरपालिकाको फागुन २१ गतेको बैठकमा इन्सेक रौतहटलाई व्यवस्थापन उपसमितिको सदस्यमा चयन गरेसँगै सो कार्यक्रममा समन्वय तथा सहकार्यमा गरिएको हो ।
कार्यक्रममा संविधान सभा सदस्य रामकुमार भट्टराईले संविधानमा महिलाको हक अधिकार सुनिश्चित गरिएकाले कार्यान्वयनमा जोड दिनु भयो ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले नगरले महिलाहरूको सशक्तिकरणका लागि विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।



सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र्याली तथा अन्तर्क्रिया कार्यक्रम गरी समपन्न गरिएको छ ।
विष्णुपुर गाउँपालिकाको आयोजना र इन्सेक, ओरेक, मानव अधिकार संरक्षण केन्द्र सञ्जाललगायतको आयोजनाका र्याली निकाल्नुका साथै अन्तरक्रिया गरिएको छ ।


