जिल्ला कारागार सल्यानमा कैद जीवन बिताइरहेका ८४ वर्षीय जिवलाल बोहराको उपचारको क्रममा मृत्यु भएको छ ।
कमजोरीले थला परेपछि एक हप्ता अघिदेखि जिल्ला अस्पतालमा उपचार गरिरहेका बोहराको फागुन २२ गते मृत्यु भएको जेलर बल बहादुर केसीले जानकारी दिनुभयो ।
अस्पताल ल्याउँदा बोहराको मुटुले राम्रोसँग काम गर्न छोडेको स्वास्थ्य सेवा कार्यालय सल्यानका मेडिकल अधिकृत डाक्टर भिमकान्त जैशीले बताउनुभयो । ‘हामीले मुटुलाइ सजिलो बनाउने औषधि प्रयोग गरि रहेका थियौं तर उपचारका क्रममै उहाँको ज्यान गयो’ जैशीले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले कानुनी प्रक्रिया पुरा गराएर शव परिवारको जिम्मा लगाइएको बताउनुभयो ।
कपुरकोट गाउँपालिका -४ धनबाङ निवासी बोहरालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सल्यानले २०७२ सालमा ८ वर्ष कैद सजायको फैसला गरेको थियो ।
फैसलापछि फरार रहेका बोहरा ०७७ माघ ७ गतेबाट कारागारमा कैद भुक्तान गर्दै गरेको कारागारले जनाएको छ ।