सर्वोच्च अदालतको आदेशद्वारा पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक फागुन २३ गतेबाट सुरु भएको छ ।
संसद भवन नयाँबानेश्नरमा सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद विस्तार सम्बन्धमा पठाइको पत्र वाचन गरेर जानकारी गराउनुभयो ।
साथै बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रस्तुत गर्नुभयो ।
सो अध्यादेश प्रस्तुत हुनासाथ नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभाको पहिलो बैठक बहिष्कार गरेको छ ।
सरकारले ल्याएको अध्यादेश पहिलो बैठकमा प्रस्तुत गर्ने कार्यसूची ल्याएकोमा विरोध जनाउँदै प्रचण्ड–माधव पक्षले बैठक बहिष्कार गरेको हो ।
सांसद भीम रावलले कार्यसूचीबाट अध्यादेश प्रस्तुत गर्ने विषय हटाउन माग गर्नुभएको थियो । सांसद रावलको मागमा नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद खगराज अधिकारीले आपत्ति जनाउनु भएको थियो ।
सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै अध्यादेश जारी गर्नुपर्ने कानुनी बाध्यता बुझिदिन आग्रह गर्नुभएको थियो । तर, नेकपाको प्रचण्ड–माधव पक्ष सभा बहिस्कार गर्दै सभाबाट बाहिरिएको थियो ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अध्यादेशको विरोध गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले अध्यादेश मार्फत शासन सञ्चालन गर्ने सरकारको प्रक्रिया अलोकतान्त्रिक भएको भन्दै त्यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताउनुभयो ।
उहाँले सो अध्यादेश तत्काल फिर्ता लिएर संसद सुचारु गराउन माग समेत गर्नुभयो । कांग्रेस सांसदहरूले विरोध गरेपछि बैठक फागुन २६ गतेसम्मको लागि स्थगित गरिएको छ ।