अपाङ्गता भएकै कारण महिलाहरूले घर परिवारबाट हिंसा सहनु परेको पीडितहरूले गुनासो गरेका छन् ।
१११ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश, डिसिए, डेक नेपाल , मानव अधिकार सञ्जाल नेपालगञ्जको संयुक्त आयोजनामा फागुन २३ गते आयोजित अपाङ्गता भएका महिलाहरूको मानव अधिकार सङ्रक्षण र सम्बर्धनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका महिलाहरूले उक्त गुनासो राख्नु भएको हो ।
नेपालगञ्ज उपमनपा–४ की बिमा कुर्मीले अपाङ्गता भएकै पति र घर परिवारले घर निकाला समेत गरेको बताउनु भयो । उहाँले आफु शारिरिक अपाङ्गता भएको र छोरा छोरी बौद्धिक अपाङ्गता भएका कारण जिविकोपार्जन गर्न समस्या रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागि निशा परियारले आफुले दिनभरी सडकमा गाना गाएर जिविकोपार्जन गरिरहेको बताउदै अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर दिए काम गर्न सक्ने बताउनु भयो । अर्का सहभागि चन्दीका पुन शारीरिक अपाङ्गता र कान पनि नसुन्ने भएकोले परिवारले उनका पतिको अर्को विवाह गरिदिन लागेको बताउनु भयो ।

कार्यक्रममा नेपालगञ्ज उपमनपाकी उममेयर उमा थापाले सबैको समन्वय र सहयोगमा अपाङ्गता भएको व्यक्तिहरूको अधिकारको लागि अगाडि बढ्नु पर्ने बताउनु भयो ।
उहाँले नेपालगञ्ज उपमनपाले नगरलाई आपाङ्ग मैत्री बनाउने योजनामा अगाडि बढी सकेको बताउदै आफ्नो कार्यक्षेत्र बाहेक अन्य विषयहरूलाई सम्बन्धित निकायसँग पहल गरि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख झङकरबहादुर रावलले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्वोधन गर्न कानुनी संयन्त्र रहेको बताउदै नितिगत विषयलाई व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले निति नियम भन्दापनि बनेका निति नियमको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जुनसुकै व्यक्तिले मानव अधिकार उल्लङघन गरे कानुनी दायरामा ल्याउने र नागरिकलाई सेवा सुरक्षा प्रदान गर्ने विषयमा पछि नहट्ने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख भोला महतले प्रत्येक दिन घरेलु हिंसाको घटना बढेकोले न्यूनिकरण र निति नियमहरूको कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
राष्ट्रिय अपाङग महासंघका महासचिव भावुकजंग थापाले अपाङगता भएका व्यक्तिहरूलाई सम्वोधन गर्न सबै स्थानीय तहले तथ्याङक अभिलेखिकरण गर्न आग्रह गर्नुभयो ।
फियान नेपालगञ्जका संयोजक सुरेश गौतमले मानिसहरूले श्रम गरेर खाने व्यवस्था मिलाउनको लागि स्थानिय तहलाई ध्यानाकर्षण गराउन आवश्यक रहेको बताउनु भयो ।
नगरस्तरिय अपाङगता सञ्जालका अध्यक्ष गोकर्णप्रसाद आचार्यले नेपालगञ्ज उपमनपामा अपाङगता भएका व्यक्तिहरूलाई लक्षित गरि अपाङगता परामर्श कक्ष सञ्चालनमा ल्याउन लागिएको बताउनु भयो ।