INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबिच भएको सहमतिको इन्सेकद्वारा स्वागत

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच फागुन २१ गते भएको तीन बुँदे सहमतिको इन्सेकले प्रेस विज्ञप्ति जारी गर्दै स्वागत तथा प्रशंसा गरेको छ ।

‘शान्तिपूर्ण राजनीतिक क्रियाकलाप तथा संवादमार्फत राजनीतिको मूलधारमा आउने नेकपाको राजनीतिक प्रतिबद्धताले नेपालको संविधानले अङ्गीकार गरेको शान्ति र लोकतान्त्रिक मर्म र भावना अझ सुदृढ हुने हामीले विश्वास लिएका छौँ ।’-इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा फागुन २३ गते जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सहमतिको तेस्रो बुँदामा उल्लेख गरिएको ‘कार्यकर्ता रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत’ भएको भन्ने बुँदाप्रति इन्सेकले गम्भीर सरोकार रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ-‘नेपाल सरकारले २०७५ फागुन २८ गते नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध गर्ने निर्णय गरेसँगै त्यस पार्टीबाट भएका हिंसात्मक तथा सरकारद्वारा हुनगएका हिंसात्मक गतिविधि नियन्त्रण गर्ने नाममा गरिएका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटना सबै अभिलेखित छन् ।’

पीडितको न्यायको अधिकार सुनिश्चित गर्ने वातावरण तय गर्न माग गर्दै इन्सेकले दण्डहीनता अन्त्यका लागि सार्थक पहल गर्न अनुरोध गरेको छ ।

अन्य

भिडियो