भेरी नगरपालिकाले जागिरबाट हटाएको भन्दै दुईजना कर्मचारीले ०७७ फागुन १९ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटमा निवेदन दिएका छन् ।
नगरपालिकामा सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मा, कम्युटर अप्रेटर पवन शर्मा र सरोज वलीलाई सेवाबाट बर्खास्त गरिएको घटनामा विभिन्न कर्मचारी सङ्गठनले विरोध समेत जनाएका छन् ।
काममा पुनर्वहालि नगरीए न्याय प्राप्तीको लागि कानुनी बाटो प्रयोग गर्ने पवन शर्माले इन्सेक प्रतिनिधिसँग बताउनुभयो । आफूूहरूको नियुक्ति पत्रको समयावधि ०७८ साल असार मसान्तसम्म भएको भन्दै वलीले उक्त मितिसम्म काम गर्न पाउनुपर्ने दावि गर्नुभयो ।
सन्तोष जनक कार्य नभएकाले ०७७ फागुन १९ गते देखि लागु हुने गरी आदेशानुसार करार सम्झौता भङ्ग गरिएको भन्दै नगरपालिकाले तीन जनालाई बर्खास्त गरेपछि निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी सङ्गठन, नेपाल निजामति कर्मचारी सङ्घ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामति)ले फागुन १९ गते संयुक्त विज्ञप्ति जारी गरी आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन माग गरेका छन् ।
नौ वर्षदेखि कार्यरत भरत तथा ०७६ सालमा नियुक्त भएका पवन र सरोजलाई राजनीतिमा भाग लिएको आरोपमा संघीय निजामति सेवा ऐन २०४९ को दफा ४४ को भावना विपरित हुने गरी काम गरेको भन्दै नगरपालिकाले फागुन १७ गते स्पष्टिकरण सोधेको थियो ।
‘प्रतिसोध र पुर्वाग्रहबाट प्रेरित भई कर्मचारी बर्खास्त गरेको कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको र फरक आस्थाकै आधारमा रोजीरोटी खोस्ने कार्यको घोर निन्दा गर्दै तीनैजनालाई काममा फर्काउन आग्रह गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।
यस सन्दर्भमा नगरपालिकाका प्रशासकिय अधिकृत दलबहादुर घर्तिले मेयरको निर्देशन अनुसार हटाइएको जानकारी दिनुभयो ।
