यातायात कार्यालय, डोटीमा कर्मचारी नहुँदा आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
कार्यालयमा कर्मचारी नहुँदा कार्यालयबाट प्रवाह गरिने सवारी दर्ता तथा नविकरण, नामसारी, सवारी चालक अनुमति–पत्र, यातायात सेवा पञ्जिकृत, सवारी जाँचपास, पटके बाटो इजाजत–पत्र लगायतका सेवाहरु लिन समस्या भएको हो ।
कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दा समेत कर्मचारी अभावका कारण पूर्ण रुपमा सेवाग्राहीले सेवा नपाएको दिपायलका स्थानीय प्रेम शाहले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘यातायात कार्यालयमा सेवा लिन जाँदा कार्यालयमा कर्मचारी हुदैनन् । कार्यालयमा कर्मचारी नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाका सेवाग्राही पनि समस्यामा परेका छन् ।’
दिपायलसिलगढी नगरपालिका–४ निवासी उद्योग वाणिज्य संघ, डोटीका अध्यक्ष मोहन कलेलले डोटी यातायात
कार्यालयमा साउन महिनादेखि कार्यालय प्रमुख बिहिन हुँदा सेवाग्राहीहरुले समस्या झेल्नु परेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सुबिधा प्रदान गर्ने भनेर कार्यालय खोलियो तर प्रदेश तथा संघीय सरकारले कर्मचारी दिएको छैन् । कर्मचारी पदपुर्तीका लागि धेरै पठक पहल भएको छ । तर, सरकारले चासो दिएको छैन् । जसका कारण सेवाग्राहीहरु मारमा परेका छन् ।’
शैलेश्वरी यातायात प्राली, दिपायलका प्रमुख प्रेम रावलले डोटीमा यातायात कार्यालय स्थापना गरेको भएपनि कार्यालयबाट सेवा प्रवाह नभएपछि सेवाग्रहीहरुले गाडी,मोटरको नविकरण गर्न पनि धनगढी नै धाउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘पाहाडी जिल्लाका यातायात व्यवसायीहरुलाई सेवा दिने भनेर कार्यालय खोलियो । स्थानीयहरुले कार्यालय खुलेकोमा खुसीयाली पनि मनाए । तर, कर्मचारीको व्यवस्था गरिएको छैन् । सामान्य काम गर्न पनि कैलाली जानु पर्ने बाध्यता छ ।’
दिपायल सिलगढी नगरपालीका–४ का यातायात व्यवसायी धर्म धामीले सवारी दर्ता तथा नविकरण, नामसारी सवारी चालक अनुमतिपत्र लगायतका सेवाहरु लिन अहिले पनि धनगढी नै पुग्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘कार्यालयमा कर्मचरीको व्यवस्थापन गर्नका लागि सबै सरोकारवाला पक्षले दबाव दिन आवश्यक छ ।’
यातायात कार्यालय दिपायलमा आठाँै तहको कार्यालय प्रमुख सहित सात जना कर्मचारीको दरबन्दी रहेको भएपनि हाल एक जना कार्यालय सहायक सहित चार जनामात्रै कार्यरत रहेकोले सेवा प्रवाह गर्न समस्या भएको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कार्यालयको लागि आवश्यक प्राबिधिक कर्मचारी छैनन् । प्राबिधिक कर्मचारी नहुँदा सेवा दिन सकिएको छैन् । प्रदेश सरकारलाई कर्मचारी अभावको जानकारी गरायौँ । तर, सुनुवाई गरिएको छैन् ।’
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले यातायात कार्यालय, डोटीमा कर्मचारी अभावले सेवा प्रवाह गर्न नसकिएको कारण सेवाग्राही मारमा परेको बताउँदै कर्मचारी व्यवस्थापनका लागि पहल भइरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘पहाडी जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्न प्रदेश सरकारले नै कार्यालय स्थापन गरेको हो । केही समयमै त्यस क्षेत्रका सेवाग्राहीहरुलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्ने व्यवस्था गरिरहेका छौँ ।’