कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बालबालिकाहरुलाई निःशुल्क खान र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनी आश्वासन दिई बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिने कार्य गरेको आरोपमा मादी गाउँपालिका–६ भुमे प्राथमिक विद्यालयका प्रधानाध्यापक ४५ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले फागुन १५ गते गिरफ्तार गरेको छ ।
विद्यालयको कक्षा २ मा पढ्ने ११ वर्षीय बालकलाई कुटपिट गरेर घाइते बनाएको खबरपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।
विद्यालयमा पढाउन भनेर लगि मानसिक र शारीरिक यातना दिइएका नौ वर्षीया बालिका, आठ, १०, ११ वर्षीय बालक र सात वर्षीय तीन जना बालकलाई उद्धार गरी पोखरास्थित एक सुरक्षा गृहमा राखिएको छ ।
११ वर्षीय पीडितकी आमा लमजुङ जिल्ला घर भइ पोखरा महानगरपालिका–१० बस्ने सुनिता तामाङले जिल्ला प्रहरी कार्यालय कास्कीमा फागुन १६ गते उजुरी दिएकी छिन् ।
उहाँका अनुसार कुटपिटबाट घाइते भएका बालक फाुगन १२ गते मात्रै उक्त विद्यालयमा लगिएको थियो ।
आफू मजदुरी गरेर दैनिकी गुजारा चलाउने गर्दै आएको बताउँदै उहाँले छोरालाई पढाउन नसक्ने अवस्थामा पुगेपछि निःशुल्क पढाउने र खानेबस्ने व्यवस्था गराइदिने भन्ने आश्वासनको आधारमा आरोपितको जिम्मामा पठाएको बताउनुभयो ।
कुटपिटबाट घाइते भएका बालकको उपचार सहित अन्य ६ जना बालबालिकाको स्वास्थ्य परीक्षण पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा फागुन १५ गते गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकरी दिनुभयो ।
आरोपितविरुद्ध जिल्ला अदालत कास्कीका फागुन १६ गते बालबालिकासम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।