इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले फागुन १० गते समग्र मानव अधिकारको अवस्थाका बारेमा कर्णाली प्रदेशका सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ ।
कार्यकारी निर्देशक गौतमले कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र प्रदेश प्रहरी कार्यालयका डिआइजी बसन्त पन्तसँग भेटघाट गरी प्रदेशको मानव अधिकारको अवस्थाबारे छलफल गर्नु भएको हो ।
गौतमले कर्णाली प्रदेशको भौगोलिक अवस्था, सामाजिक विकृति, बढ्दो घरेलु हिंसा र बाल विवाहका घटनाहरूको बारेमा राज्य र अन्य सरोकारवाला गम्भीर बन्नुपर्ने देखिएको बताउनुभएको थियो । नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटिने घटनाहरूको बारेमा सुझाव दिन आग्रह गर्दै यसलाई आगामी दिनमा वस्तुपरक गराउन इन्सेक प्रतिबद्ध भई लाग्ने निर्देशक गौतमको भनाई थियो ।

छलफलमा गौतम, मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाई, इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी र लुम्बेनी प्रद्रेशका संयोजक भोला महतको उपस्थिती रहेको थियो ।
फागुन ११ गते इएलपी परियोजना अन्तर्गत वीरेन्द्रनगर नपामा गठित मानव अधिकार समूहसँग भेटघाट गरी मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भयो ।
