INSEC Online

📅 २०८३ जेष्ठ २१

बालकको मृत्यु भएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण

जुम्ला जिल्ला गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बालक पदमबहादुर बुढाको प्रहरीको कुटपिट तथा यातनाबाट मृत्यु भएको भनिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले ०७७ फागुन ७ गते विज्ञप्ति प्रकाशित गरी कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले उक्त घटनाको अनुगमन गरेको समेत जनाएको छ ।

आयोगको अनुगमन टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगी सघन उपचारकक्षमा राखिएको शवको अवलोकन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकसँग घटनाको बारेमा जानकारी लिएको जनाएको छ ।

मोबाइल चोरीको आरोपमा मृतक बालकलगायत सात जनालाई प्रहरीले माघ १८ गते गिरप्mतार गरेको, सोधपुछको क्रममा पाइपले कुटपिट गरी उनीहरूलाई सोही दिन छोडेको, कुटपिटका कारण मृतक बालकको बायाँ खुट्टाको पिँडौला र पाइतालामा नीलडाम परेको तथा खुट्टा सुन्निएको र उपचारकै क्रममा फागुन ५ गते बालकको मृत्यु भएको अनुगमनको क्रममा बुझिएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाले विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन जिल्ला प्रहरी कार्यालय, जुम्लालाई पत्राचार गरेको छ ।

साथै बालको मृत्यु भएको दुई दिन भइसक्दा समेत शव अस्पतालको सघन उपचार कक्षमै रहेको पाइएकोले तत्कालै उपयुक्त स्थानमा शव व्यवस्थापन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत पत्राचार गरेको जनाएको छ ।

नेपाल पक्षराष्ट्र बनेको बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को धारा ६ ले प्रत्येक बालबालिकाको बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको छ भने धारा ३७ ले कुनै पनि बालबालिकालाई यातना दिइने वा अन्य क्रूर र अमानवीय वा अपमानजनक व्यवहार वा सजाय दिन नहुने उल्लेख गरेको छ । त्यस्तै, बालन्याय कार्यविधि नियमावली, २०६३ को दफा ४ (ङ) ले कुनै कसूरमा बालकलाई पक्राउ गरेपश्चात् नजिकैको सरकारी अस्पताल वा चिकित्सकबाट तुरुन्तै शारीरिक तथा मानसिक स्वास्थ्य जाँच गर्न लगाउने व्यवस्था गरेको समेत आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अतः उक्त घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, अस्पतालको सघन उपचार कक्षमा रहेको शवको उपयुक्त स्थानमा व्यवस्थापन गर्न, विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन तथा पीडित परिवारको संरक्षण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरेको आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो