२३ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएका दुल्लू नगरपालिका–५ का वडासदस्य प्रकाश पोखरेल र आफन्तको दबाबमा पीडितलाई उजुरी दर्ता गराउनबाट वञ्चित गरिएको छ ।
पीडित युवतीलाई आरोपितले माघ २९ गते राति १ बजे युवतीकै कोठामा जबरजस्ती गई दुर्व्यवहार गर्न खोज्दा पीडित महिलाले गुहार मागेपछि स्थानीयले आरोपितलाई नियन्त्रणमा लिई राति नै दुल्लु इलाका प्रहरी कार्यालय दुल्लुलाई बुझाएका थिए ।
अनुसन्धानको क्रममा प्रहरीले गरेको सोधपुछमा आरोपितले कसूर स्वीकार गरेको भए पनि आरोपितका आफन्तहरूको दबाबमा पीडित महिलाले उजुरी गर्न नमानेपछि फागुन २ गते आरोपितलाई छाडिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताउनुभयो ।
पीडितलाई आर्थिक प्रलोभनमा पारी उजुरी दिनबाट रोकिएको सामाजिक सेवा केन्द्र (सोसेक)का महिला तथा बाल अधिकार संरक्षण अधिकृत प्रभा बिकले टिप्पणी गर्नुभयो ।
मुद्दा प्रक्रिया अगाडि बढाउँदा आरोपित पक्षबाट असुरक्षित महसुस गरेपछि उजुरी नगरेको पीडित पक्षले जनायो ।
‘होष्टाइल’ भएकाहरूलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था भए पनि उजुरीकर्तालाई सजाय नभएको कारण पछिल्लो समय बलात्कार र यौन दुर्व्यवहारका घटनामा धेरैजसो पीडितहरू ‘होष्टाइल’ हुने गरेको बार एसोसिएशन दैलेखका अध्यक्ष माधवराज अधिकारीले बताउनुभयो ।