नेपाल कम्न्युष्टि पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले माघ २९ गते काठमाडौँ शंखुमुलस्थित आफ्नै घरबाट गिरफ्तार गरेको पाँच घण्टापछि रिहा गरेको छ ।
महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पुर्जी दिएर गिरफ्तार गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटन असंवैधानिक कदम भएको भन्दै त्यसको विरोधमा नेकपा दाहाल-नेपाल समूहले विभिन्न कार्यक्रम सहित विरोध प्रदर्शन गर्दै आएको छ ।
प्रधानमन्त्रीको सोही कदमलाई लिएर झाँक्रीले माघ १७ गते गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गर्नुभएको थियो ।
सोही विषयलाई आधार बनाएर प्रहरीले झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत गिरफ्तार गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।
उहाँलाई प्रहरीले गिरफ्तार गरी नेपाल प्रहरी क्लब प्रदर्शनीमार्गमा राखेर सोधपुछ गरेर पाँच घण्टापछि रिहा गरेको हो । एसएसपी थापाले उहाँलाई सामान्य सोधपुछ गरी श्रीमानको जिम्मामा छोडिएको बताउनु भयो ।
गिरफ्तारको चौतर्फी विरोध हुन थालेपछि रिहा हुनु भएकी नेतृ झाँक्रीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा सरकारले आफूलाई कानुनको गलत ब्याख्या गरेर गिरफतार गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।