INSEC Online

📅 २०८३ जेष्ठ २१

२६ औँ प्रकाश मानव अधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई

अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना भएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ । इन्सेकले माघ २७ गते काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रकाश मानव अधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई हस्तान्तरण गरेको हो ।

photo20210209lalitpur2इन्सेकका महासचिव रुद्र चर्मकारको संयोजकत्वमा रहेको प्रकाश मानव अधिकार पुरस्कार छनौट समितिले २०७७ साउन १६ गते प्रकाश स्मृति दिवसको अवसर पारेर डाक्टर विश्वकर्मालाई २६ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको थियो ।

हरेक वर्ष प्रकाश स्मृति दिवसमा दिइँदै आएको प्रकाश मानव अधिकार पुरस्कार यस वर्ष कोभिड १९ को विश्वव्यापी माहामारीले उत्पन्न भएको स्वास्थ्य सुरक्षाको कारण सो दिन भर्चुअल कार्यक्रमको आयोजना गरी डाक्टर विश्वकर्मालाई दिइने निर्णय भएको थियो ।

बाजुरा जिल्लाका नागरिकको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तिका रूपमा सुपरिचित डा.विशवकर्माले ग्रामीण तथा पिछडिएको क्षेत्रका स्वास्थ्य संस्थामा स्रोत साधनको अभावका बाबजुद सेवा अनुकरणीय सेवा पुर्‍याए बापत पुरस्कार तथा सम्मान प्रदान गरिएको इन्सेकले जनाएको छ ।

स्वास्थ्यको क्षेत्रमा जीवनको झण्डै तीन दशक समर्पण गरेको र  कोभिड १९ बाट सङ्क्रमितको उपचार तथा समन्वय र जोखिम नियन्त्रणमा समेत ग्रामीण तथा दुर्गम क्षेत्रमा उल्लेख्य भूमिका खेलेको भन्दै इन्सेकले डाक्टर विश्वकर्मालाई पुरस्कृत गरेको इन्सेका अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले बताउनु भयो ।

photo20210209lalitpur1इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा राष्ट्रपतिका पूर्व मानव अधिकार तथा राजनीतिक विज्ञ सुशील प्याकुरेलको प्रमुख आतिथ्यमा समारोह सम्पन्न भएको थियो ।

समारोहका प्रमुख अतिथि प्याकुरेलले प्रकाश मानव अधिकार पुरस्कारले समाजका विभिन्न क्षेत्र, वर्ग र पेशाका माध्यमबाट सामाजिक न्याय र मानव अधिकारका निम्ति योगदान गर्ने व्यक्तिको सम्मान, प्रेरणा र हौसला मिल्ने बताउनु भयो ।

लोकतन्त्र बिना मानव अधिकार नरहने उल्लेख गर्दै मानव अधिकार तथा सामाजिक अभियानले समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको स्थापित गर्ने उहाँको धारणा थियो ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाइ एयर बस दुर्घटनामा परि निधन भएको थियो ।

नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उहाँले पुर्‍याएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ स्थापना गरेको हो । पुरस्कारको राशी ५० हजार नगद, सम्मानपत्र र इन्सेकको प्रतिक चिह्न प्रदान गरिएको थियो ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले डाक्टर रुपचन्द्रले दुर्गम जिल्लामा रहेर जनताको स्वास्थ्य सेवाको अधिकारमा पहुँच पुर्‍याउनु भएको उल्लेख गर्नु भयो ।

मानव अधिकारकर्मी गणेश विश्वकर्माले नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कृत गरिनुले इन्सेकको छनौट निकै महत्पवूर्ण भएको बताउनु भयो ।

यो पुरस्कारबाट विश्वकर्मा समेत हालसम्म २६ जना मानव अधिकारको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरू पुरस्कृत भइसक्नु भएको छ ।

अन्य

भिडियो