प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध प्रतिनिधि सभाको पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षले माघ २२ गते आयोजना गरेको आमहड्तालका कारण बागमती प्रदेशको जनजीवन प्रभावित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको आमअड्तालको कारण काठमाडौँ लगायतका जिल्लाहरूमा सवारी साधन तोडफोड भएका छन् । साथै प्रहरीले प्रदर्शनको क्रममा कलङ्की लगायतका विभिन्न स्थानबाट नेकपाका स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय नेताहरू हितमान शाक्य, डा. विजय पौडेल, अमृता थामा मगर, कृष्ण केसीलगायत ६९ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएका सबैलाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्जमा राखिएको छ । प्रहरीले गिरफ्तार गरिएकामध्ये दुई जना सिस्टम सोलुशन कम्पनीमा कार्यरत कर्मचारी भएको पुष्टिपछि उनीहरूलाई बिहान १० बजेतिर रिहा गरेको थियो । काठमाडौँमा आमहड्तालकाे समयमा प्रहरी र प्रदर्शनकारीबाट भएका गतिविधिको इन्सेक लगायतका मानव अधिकारवादी सङ्घसंस्थाहरूले अनुगमन गरेका थिए ।
आमहड्तालको अनुगमन गर्ने क्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्जमा राखिएका प्रदर्शनकारीहरूसँग भेटघाट गर्नु भएको थियो । संयोजक गौतमले प्रदर्शनको क्रममा घाइते भई वीरेन्द्र प्रहरी अस्पतालमा उपचाररत कमला गौतम र राजकुमार तामाङसँग पनि घटनाबारे जानकारी लिनु भएको थियो ।
काभ्रेको चौरीदेराली गाउँपालिका-७ की ३३ वर्षीया कमला गौतमले विरोध प्रदर्शनको क्रममा प्रहरीले चाबहिलमा लाठी चार्ज गर्दा खुट्टामा चोट लागेको अवस्था गिरफ्तार गरिएको अनुगमनमा संलग्न गौतमलाई बताउनु भयो ।
यसैगरी नुवाकोटको बेलकोट गढी गाउँपालिका-९ घर भएका २२ वर्षीय राजकुमार तामाङलाई प्रहरीले सामाखुसीमा कुटपिट गरेको छ । प्रहरीले लाठी र बुट प्रहार गर्दा चिउँडोमा चोट लागि घाइते भएपछि प्रहरीले तामाङलाई गिरफ्तार गरेको थियो । घाइते दुवै जनाको वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भएको छ । गिरफ्तार गरिएका सबैलाई आजै साँझ छाडिएको छ ।
इन्सेक काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार आमहड्तालको अवज्ञा गरेको भन्दं बिहान सामाखुसीमा अज्ञात व्यक्तिले प्रदेश ३ – ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी आगजानी गरे । सो ट्याक्सीका चालक ४१ वर्षीय कुम्भनारायण श्रेष्ठका अनुसार नेपाल बन्दको अवज्ञा किन गरेको भन्दै उनिहरुले आगजनी गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिनुभयो ।
यसैगरी गोगंबुमा आमहड्तालको उल्लङ्घन गरेको भन्दै एउटा टाटासुमो तोडफोड भएको छ । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशिल सिंह राठौरले बताउनुभयो ।
यस्तै, चाबहिलको मित्रपार्कमा बा ५ ख २०३९ नम्बरको मिनिबसमा तोडफोड गरिएको छ भने कलङ्कीस्थित मकालु पेट्रोल पम्प नजिकै बा १ ज ६९३० नम्बरको ट्याक्सीको पछाडि सिसा फुटाइएको छ । नैकापमा बा ७ च ६५३९ नम्बरको कारमा ढुङ्गा प्रहार भएको छ ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारका अनुसार प्रदेशको राजधानी हेटौँडामा आमहड्तालको कार्यक्रममा सहभागीहरूलाई लक्षित गर्दै खुकुरी प्रहार गर्ने हेटौंडा–५ का २६ वर्षीय दीलिप सञ्जेललाई प्रहरीले गिरफ्तार गरेको छ। सञ्जेल विरुद्ध ‘अभद्र व्यवहार’ अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेको जिल्ला प्रहरी कार्यालयका डिएपी इन्द्रबहादुर रानाले जानकारी दिनु भयो ।
साथै नेकपाका बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको नेतृत्वमा हेटौँडाको सीमा चोकमा प्रदर्शनकारीले टायर बाल्ने विषयमा प्रहरीसँग भएको विवादमा पुलामीलाई प्रहरीले नियन्त्रणमा लिए पनि टायर नबाल्ने सहमतिपछि छाडेको थियो । बागमती प्रदेश राजधानी हेटौँडामा इन्सेकले आमहड्तालको प्रभाव र मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको थियो ।
इन्सेक सिन्धुली प्रतिनिधि विमला पाण्डेका अनुसार नेकपा माधव प्रचण्ड पक्षाले आयोजना गरेको आमहड्तालमा नेकपाका प्रधानमन्त्री ओली पक्षका जिल्ला नेता शान्तिमान कार्की माथि हातपात गरेको छ । कार्कीलाई सिन्धुलीमाढी स्थित विपी राजमार्गको शान्तिनगर चोकमा सडक बन्द गराउन बसेका नेकपाका केन्द्रीय सदस्य कमलजंग राई, जिल्ला नेता ज्वालाप्रसाद न्यौपाने र कमलामाई नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका विद्यार्थी नेता दिपेन्द्र फुयाँलले हातपात गरेको कार्कीले बताउनु भएको छ । कार्कीले गोडा भाँचिएका बिरामी लिएर अस्पतालतर्फ जाँदै गरेको स्कुटी रोक्न खोज्दा नरोक्नुस, अस्पताल जान दिनुस भनेको निहुँमा कुटपिट गरेका आफूमाथि कुटपिट भएको बताउनु भयो ।
आमहड्तालको नेतृत्व गर्नु भएका विघटित प्रतिनिधिसभाका सदस्य एवम् नेकपा केन्द्रीय सदस्य गणेशकुमार पहाडी भने कुनै आपतकालिन सवारी साधनमा रोक नलगाईएको बताउनु भएको छ । नेता कार्कीलाई हातपात गर्ने नेकपा (प्रचण्ड-माधव) पक्षका नेता विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दिएको नेकपा (ओली) पक्षका नेता प्रदीप कटुवालले बताएउनु भए पनि जिल्ला प्रहरी कार्यालयका एसपी आभुषण तिम्सिनाले भने आफूहरूकोमा उजुरी नआएको बताउनु भयो ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार सडकमा आमहड्ताल सफल पार्न जम्मा भएका बन्दकर्ता मध्ये केही प्रदर्शनकारीहरूले ट्याक्सी, निजी सवारी साधन र मोटरसाइकललाई लखेटेका थिए । सल्लाघारीमा भेटिएका ट्याक्सी चालक राम मगरले नेताहरूले गरिखान नदिएको भन्दै यात्रु झारेर अलपत्र पारेको र तोडफोड गर्छु भनेपछि भाग्नु परेको बताउनु भयो ।
यसै गरी काठमाडौँबाट धुलिखेल जाँदै गरेको बसबाट ओरालेर अलपत्र परेका यात्रु काभ्रे साँगाका मखमली खत्रीले धुलिखेल अस्पतालमा रहेकी आमालाई आवश्यक पैसा र सामान लिएर जान लागे पनि बन्दकर्ताका कारण बीच मै अलपत्र परेको बताउनुभयो । महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले सडकमा टायर बाल्नेक्रममा झौखेलबाट सुमन दाहाललाई गिरफ्तार गरी साँझ छाडिएको बताउनुभयो ।
ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार जिल्लामा आमहड्तालको क्रममा सातदोबाटोमा माउण्टेन टेलिभिजनका पत्रकार दिवाकर साह माथि बन्दकर्ताले हातपात गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माधव—प्रचण्ड)का नेता देव गुरुङसँग कुराकानी गरिसकेपछि सर्वसाधारणसँग कुरा गर्दै गर्दा आफू माथि नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताबाट हातपात भएको पीडित साहले बताउनु भयो । हातपातका क्रममा साहको ज्याकेट च्यातिएको छ भने प्रहरीले सुरक्षा दिइ केहीबेर महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोमा राखेर सुरक्षापूर्वक टेलिभिजनको कार्यालयसम्म पुर्याएको पीडितले बताउनु भयो । सप्तरी जिल्ला राजविराज नगरपालिका–४ घर भइ ललितपुर महानगरपालिका–२, कोपुण्डोल बस्ने २८ वर्षीय साहको अवस्था सामान्य रहेका महानगरीय प्रहरी परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिनु भयो ।
आम नागरिकहरूलाई आवतजावत गर्नबाट वञ्चित गराइएको आरोपमा क्रममा झम्सिखेलबाट विष्णु भाट र श्याम कार्कीलाई प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिनु भयो । टेम्पोको हावा फुस्काइ रहेको अवस्थामा गिरप्mतार गरिएका भाट र कार्कीलाईसाँझ छोडिएको एसपी महर्जनले बताउनु भयो ।
यसैबीच नेपाल राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ति प्रकाशन गरी कुनै पनि बहानामा नागरिकहरूको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न तथा सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
सथौ विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड—नेपाल समूह) द्वारा आह्वान गरिएको आमहड्ताल तथा प्रदर्शनको क्रममा प्रहरीबाट बल प्रयोग गरेको समेत उल्लेख गरिएको । आमहड्ताल आह्वानकर्ताहरूबाट आम नागरिकहरूलाई आवतजावत गर्नबाट वञ्चित गराउनु मानव अधिकारको मूल्य मान्यता विपरीतको कार्य भएकाले यसतर्फ संवेदनशील हुन आयोगले सम्वद्ध सबै पक्षलाई आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार नेपा कम्यूनिष्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूले गरेको आमहड्तालका कारणले शिक्षणसंस्था समेत बन्द गरिएपछि विद्यालय पुगेका विद्यार्थीहरु नपढी घर फर्किएका थिए । बन्द आयोजकले परिक्षा सञ्चालन हुन दिने भने पनि स्कुलबस सञ्चालन हुन नदिँदा विद्यार्थीलाई विद्यालय ल्याउन नसकिएको कारण एड्भान्स एकेडेमीले नियमित सञचालन गरेको परीक्षा समेत स्थगित गरेको विद्यालयका प्रिन्सिपल भीम श्रेष्ठ ले बताउनुभयो ।