नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव पक्षले माघ २२ गते गरेको आमहड्तालका क्रममा प्रचण्ड–माधव पक्षधर र प्रहरीबीच डडेल्धुरा जिल्लामा झडप भएको छ भने कञ्चनपुर जिल्लामा पत्रकारमाथि हातपात तथा दुर्व्यवहार गरिएको भएपनि अन्य जिल्लामा कुनै अप्रिय घटनाहरु भएनन् ।
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र बिष्टका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले नाराजुलुस सहित भात्काडा बजार बन्द गराउन दवाब दिएपछि प्रहरीले रोक्न खोज्दा नेकपाका कार्याकर्ताहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका छन् । ढुङ्गा प्रहारबाट भात्काँडा प्रहरी चौकीका ईन्चार्ज अम्मरबहादुर कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी महेन्द्र नेपालले बताउनु भयो । नेकपा कार्यकर्ताको ढुङ्गा प्रहारबाट खुट्टामा चोट लागेका कठायतको डडेल्धुरा अस्पतालमा उपचार गरिएको छ ।
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले माघ २२ गते कञ्चन टुडे दैनिकका सह–सम्पादक तथा आर्थिक अभियान दैनिकका संवादाता पत्रकार मदन गिरीमाथि हातपात तथा दुर्व्यवहार गरेका छन् । समाचार सङ्कलन गर्ने क्रममा नेकपा प्रचण्ड–माधव समुहका कार्यकर्ताले पत्रकार गिरीमाथी हातपात गरेका हुन । भारतबाट फर्किएर बन्दका कारण भीमदत्त नपा–४ महेन्द्रनगरमा अलपत्र परेका यात्रुसँग कुरा गरिरहेको अवस्थामा आन्दोलनकारीले हातपात गरेको पीडित पत्रकार गिरीले बताउनु भयो । पत्रकारमाथि हातपात गरेको घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ, कञ्चनपुर, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति र नेपाल प्रेश युनियन, कञ्चनपुरले प्रेश विज्ञेप्ति जारी गरी घटनामा संलग्नहरुलाई कार्वाहीको माग गरेको छ ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्तालको पूर्व सन्ध्यामा माघ २१ गते साँझ प्रचण्ड–माधव पक्षधरहरुले निकालेको मसाल जुलुसमाथि प्रहरीले हस्तक्षप गरी लाठ्ठी चार्ज गर्दा राष्ट्रिय युवा सङ्घका केन्द्रिय सदस्य धनगढी उपमहानगरपालिका–२ का ३० वर्षीय दिपकबहादुर सिंह घाइते भएका छन् । प्रहरीको लाठ्ठी चार्जबाट हातमा चोट लागेका सिंहको माघ २१ गते धनगढीस्थित सिपी अस्पतालमा उपचार भयो ।
आछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार बजार बन्द गराउँदै हिँडेका नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको कुटाइबाट तुर्माखाँद गाउँपालिका–४ बजार निवासी ३२ वर्षीय झङ्करबहादुर बुढा घाइते भएका छन् । पसल बन्द नगरेको भन्दै आन्दोलनकारीले लछारपछार गरेर दाउरा प्रहार गरेर छाति, तिघ्रा र गोडामा प्रहार गरी घाइते बनाएको नेपाली कांग्रेस तुर्माखाँद गाउँपालिका कार्यसमिति सचिव हर्कबहादुर बुढाले जानकारी दिए । घाइतेको सामान्य उपचार तुर्माखाँद स्वास्थ्य चौकीमा गरी थप उपचारका लागि जिल्ला अस्पताल लैजाने स्वास्थ्य चौकीले जनायो । आन्दोलनकारीले घाइतेको उपचारको खर्च ब्यहोर्ने र पसलमा भएको क्षतिपुर्ति दिने तुर्माखाँद प्रहरी चौकीमा सहमति भएको छ ।