अध्यादेशबाट ऐन संशोधन गरी संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव पक्षले माघ २२ गते गरेको आम हड्तालको कर्णाली प्रदेशमा आंशिक प्रभाव परेको छ ।
इन्सेक सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार नेकपाले गरेको देशव्यापी आमहड्तालको क्रममा सहभागी आन्दोलनकारीहरूले सुर्खेतमा एक युवालाई कुटपिट गरेका छन् । बन्दको अवज्ञा गरी मोटरसाइकल चलाएको भन्दै आन्दोलनकारीहरूले वीरेन्द्रनगर नपा–८ स्थित बुलबुले गेट नजिकै कुटपिट गरेको तर युवाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताउनुभयो ।
यस्तै वीरेन्द्रनगरको मङ्गलगढी चोकमा भेला भएका आन्दोलनकारीहरूलाई देखेर भाग्दै गरेको ०३–०२–११ प ७७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर नपा–६ का ११ वर्षीय बालक आशिष नेपाली घाइते भएकाछन् । वीरेन्द्रनगर नपा–६ निवासी २५ वर्षीय रिसप कौशलले चलाएको मोटरसाइृकलले दिएको ठक्करबाट घाइते बालकको मुख, टाउको, शरीरको अन्य भागमा चोट लागेको र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको डिएसपी घर्तीले जानकारी दिनुभयो ।
यसैगरी प्रधानमन्त्री केपी ओली समर्थक अनेरास्ववियुका कार्यकर्ताहरूले आमहडतालको बिरूद्ध वीरेन्द्रनगरमा मोटरसाइकल र्याली निकालेको अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य पे्रम खडकाले जानकारी दिनुभयो । यसैबीच वीरेन्द्रनगरमा आमहडतालको प्रभावबारे राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख बुद्धनारायण साहनी, अधिकृत किरण बराम र इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदी सहितको टोलीले अनुगमन गरेको थियो ।
इन्सेक (रूकुम पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार तरकारी बेच्न आएका किसानहरूले आमहड्तालको कारण बजार बन्द हुँदा फर्किएर जानुु परेको गुनासो गरेका छन् । मुसिकोट नपा–३ का दुर्पता खड्काले तरकारी बोकेरै फिर्ता हुनुपर्दा सास्ती भएको बताउनुभयो ।
यसैबीच आन्दोलनकारीले त्रिवेणी गाउँपालिकाको कार्यालयमा २२ गते बिहान करिब ८ बजेतिर ताला लगाएका छन् । उनीहरूले लगाएको ताला गाउँपालिका र जिल्ला प्रहरी कार्यालयको पहलमा दिउँसो दुई बजेतिर खोलिएको तर कर्मचारी घर फर्किसकेकोले अन्य कामहरू हुन नसकेको गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तिले बताउनुभयो ।