INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको हत्या गरेको कसुरमा जन्म कैद सजाय फैसला

खैरहनी नगरपालिका–९ सिमलटाँडीका ४५ वर्षीय कृष्णप्रसाद अधिकारीलाई पत्नी ३४ वर्षीया अन्जु अधिकारीको हत्या गरेको कसुरमा जन्म कैद सजाय फैसला भएको छ ।

जिल्ला अदालतका न्यायधीश प्रकाशकुमार अधिकारीको माघ १८ गतेको इजलासले उक्त फैसला सुनाएको अदालतका श्रेष्तेदार ईश्वर आचार्यले बताउनुभयो ।

यसै घटनामा दोषी भनिएकी कृष्णप्रसादकी कान्छी पत्नी ३५ वर्षीया शर्मीला अधिकारी ढुङ्गानाले भने सफाई पाएकी छन् ।

अधिकारी विरुद्ध ०७७ वैशाख २७ गते राती पत्नी अञ्जु अधिकारीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घरायसी विवादकाकारण अधिकारीले खुकुरी प्रहार गर्दा अञ्जुको घटनास्थलमै मृत्यु भएको थियो । शवको वैशाख २८ गते भरतपुर अस्पतालमा पोष्टमार्टम भएको थियो ।

कृष्ण र उनकी कान्छी पत्नी शर्मीलालाई इलाका प्रहरी कार्यालय खैरहनीले वैशाख २७ गते राती नै गिरफ्तार गरेको थियो ।

आरोपितविरुद्ध मृतकका बुवा बारा जिल्ला सीमरा उपमहानगर–१ का बच्चुराम तिमल्सिनाले वैशाख २८ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिनु भएको थियो ।

जिल्ला अदालतको न्यायाधीश हेमन्त रावलको जेठ २२ गतेको आदेशले कृष्णप्रसादलाई पुर्पक्षका लागि थुना पठाएइएको थियो भने शर्मीलालाई साधारण तारेखमा रिहा गरेको थियो ।

अन्य

भिडियो