अपरिचित व्यक्तिहरूको समूहद्वारा इन्द्रसरोवर गाउँपालिका–४, फाखेलमा मालबाहक पिकअप गाडीमा आगजनी गरिएको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले ०७७ माघ १० गते आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा नचिनेका व्यक्तिहरूले भीमफेदीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप गाडीमा राती २ बजेको समयमा आगजनी गरेको हो ।
गाडी रोकेर चालकलाई बाहिर निकालेर आगजनी गरी आगजनीमा संलग्नहरू भागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
आगजनीबाट पिकअपको अगाडिको भाग जलेर नष्ट भएको छ । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको डिएसपी रानाले बताउनुभयो ।
यसैबीच जिल्लाका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएको छ । हेटौँडा उपमहानगरपालिका–५, मनकामनाचोकमा भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले बिहान ८ बजेर ४५ मिनेटमा निष्क्रिय पारेको छ ।
यसैगरी, राक्सिराङ गाउँपालिका–५, खोप्लासी र बागमती गाउँपालिका–४, झुरझुरेमा पनि शंकास्पद बस्तु भेटिएको र सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले निष्क्रिय पारेको डिएसपी रानाले जानकारी दिनुभएको छ ।
यसैबीच इन्सेक काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका– ६ बुडोलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले राखेको प्रेसर कुकर बम ०७७ माघ १० गते बिहान नेपाली सेनाले डिस्पोज गरेको छ ।
यसैगरी बिपी राजमार्ग अन्तरगत रोशी गाउँपालिका–८ नार्के बजार नजिकै १० गते बिहानै सिलिण्डर बिस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपीकुमार विक्रम थापाले बताउनु भयो । डिएसपी थापाका अनुसार बिस्फोटबाट मानवीय तथा भौतिक क्षति भएको छैन ।
प्रतिबन्धित नेकपाले माघ १० गते नेपाल बन्दको आह्वान गरेको थियो ।