१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका १९ वर्षीय रोशनकुमार खङ्गविरुद्धको मुद्दा अदालतले पुस २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश इश्वरमणी ओझाको इजलासले मुद्दा मुल्तबीमा राख्ने अन्तिम आदेश गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
पीडित युवतीलाई आरोपितले ०७५ साउन ४ गते राति यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी ४० वर्षीया आमाले ०७५ साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ साउन ७ गते गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले साउन ११ गते उजुरी दर्ता गरेको थियो । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु बिहेका लागि घरबाट भाग्न खोज्दा पीडितका अभिभावकहरूले थाहा पाई प्रहरीमा उजुरी गरेको आरोपितका बाबुआमाले बताएका छन् ।
जिल्ला अदालतको आदेशमा आरोपितविरुद्ध ०७५ कात्तिक २० गते वारेण्टसहितको म्यादी पुर्जी जारी भएको थियो ।