अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बगनासकाली गाउँपालिका –८ बराङदीमा गठन गरिएको बेद युवा समुहद्वारा प्रकाशित ‘परिवर्तनका लागि युवा’ नामक पुस्तकको पुस २२ गते विमोचन गरिएको छ ।
पुस्तकको विमोचन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले युवा समूहले समुदाय स्तरमा रचनात्मक कार्यक्रमहरू गर्दै आएको बताउनु भयो । अध्यक्ष बस्यालले युवा समूहले गर्ने कार्यका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न गाउँपालिका जहिले पनि तयार रहेको बताउनु भयो ।

वडा नम्बर ८ का अध्यक्ष गणेशप्रसाद बस्यालले युवा समूह मार्फत बराङदीमा धेरै राम्रा कामहरु हुँदै आएको बताउँदै स्थानीय तहले अब घोषणा गर्न लागेको बालमैत्री कार्यक्रमका लागि समुदाय स्तरबाट सक्दो सहयोग गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ पाल्पाका शाखा प्रवन्धक शोबाकान्त न्यौपानेले यो युवा समूहले परिवार नियोजनसँगको सहकार्यमा बराङदीमा सूचना केन्द्र समेत सञ्चालन गर्दै आएको बताउनु भयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रध्यापक डाक्टर शङ्कर गैरे, तातोपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पाठक, बगनासकाली कृषि सहकारीका अध्यक्ष कृष्ण भुसालले युवाहरू यसरी सङ्गठित भएर लाग्नु पंशसनीय कार्य भएको बताउनु भयो । पुस्तकमा युवा समूहका सफलताका कथा, युवाका अनुभव लगायतका बिषयहरू समेटिएका छन् ।