१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपनी गाउँपालिका–४ छपकी भथौलका २२ वर्षीय ललन साहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २१ गते उजुरी दर्ता गरिएको छ ।
छठ पर्वको अवसरमा मङ्सिर ७ गते राति गाउँमा भइरहेको नृत्य कार्यक्रम हेर्न गएकी पीडितलाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले पुस २१ गते दिएको उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।
घटनापछि मङ्सिर १० गते पीडितकी आमाले बलात्कारको उजुरी लिएर आएपछि अनुसन्धानका क्रममा बालिकाले स्वयम् बलात्कार नभई यौन दुर्व्यवहार भएको बताएपछि उजुरी परिवर्तन गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भने गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर १० गते नै गरिएको छ । घटनापछि आरोपित फर्केर गाउँ नआएको पीडितकी आमाले बताइन् ।
आरोपितका बुबाले भने घटना अगावै छठ पर्व लगत्तै ललन अध्ययनका लागि भारत गएकाले उजुरी काल्पनिक र झुठो भएको दावी गरे । आरोपित भारततर्फ गएकाले गिरफ्तार भएका छैनन् ।