कर्जन्हा नपा–३ की ८५ वर्षीया सुदामादेवी साहको हत्या आरोपमा ४० वर्षीया बुहारी मन्जुदेवी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पुस १२ गते गिरफ्तार गरेको छ ।
पीडित परिवारका अनुसार मन्जु र ४५ वर्षीय पति रामअवतारकी बुहारी (मृतककी नातिनी बुहारी) बिरामी परेपछि आमालाई कथित बोक्सीको आरोपमा कात्तिक ११ गते लछारपछार पार्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटबाट घाइते भएकी सुदामालाई उपचारको लागि जनकपुरस्थित धनुषा अस्पतालमा लगिएको थियो । डाक्टरले बाँच्ने आशा नभएको भन्दै घर लग्नु भनेपछि कात्तिक १५ गते सुदामा देवीको मृत्यु घरमा नै भएको मृतककी छोरी जानकी साहले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा कात्तिक १६ गते गरिएको छ । घटनाको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयामा कात्तिक १५ गते दिएको जानकीले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारका अनुसार घटनाको जानकारी हुनासाथ आरोपित रामअवतारलाई कात्तिक १३ गते नै गिरफ्तार गरिएको छ ।
मन्जु देवीलाई पनि पुस १२ गते गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको र थप अनुसन्धान गरिरहेको डिएसपी जैसवारले बताउनु भयो ।