बडिगाड गाउँपालिका–२ की ३६ वर्षीया महिलालाई कथित बोक्सी भन्दै निर्घात कुटपिट गर्ने सोही ठाउँका ३८ वर्षीय तेजबहादुर राना, २६ वर्षीय विजय राना, ३१ वर्षीय पूर्ण बहादुर राना सहित २८ र १९ वर्षीया दुई महिलालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पुस १ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई मङ्सिर २८ गते मुखमा टेप बाँधी कथित बोक्सी भनी आरोप लगाएर कुटपिट गरेको, मानसिक यातना दिएको भन्दै पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा पुस १ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर लोकेन्द्र श्रेष्ठले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
उहाँले पीडितको स्वास्थ्य परीक्षण धौलागिरी अस्पताल बागलुङमा गरिएको र परीक्षणमा महिलाको घाँटी, गाला र शरीरका विभिन्न अङ्गहरुमा चोट लागेको पाइएको बताउनुभयो ।
आरोपितले पीडित महिलालाई नियोजित रुपमा लामो समय देखि पटक–पटक मानसिक यातना हुने गरी कथित बोक्सी भनेर आरोप लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिनुभयो ।
बोक्सीको आरोप (कसुर सजाय) ऐन २०७२ अनुसार बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने, मानसिक यातना दिने व्यक्तिलाई पाचँ वर्ष देखि आठ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपियाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।