पीडितको न्यायिक प्रक्रियामा मानव अधिकार सहायता कक्षको भूमिका महत्वपुर्ण रहेकोमा सहभागीहरूले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा मङ्सिर २६ गते आयोजित मानव अधिकार सहायता कक्षको बैठकमा उक्त कुरामा जोड दिएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकरबहादुर रावलले सङ्घ संस्थाहरूसँगको सहकार्यलाई बलियो बनाएर पीडितको न्यायिक प्रक्रियामा सहयोग गर्ने बताउनु भयो । उहाँले मानव अधिकार सहायता कक्षजस्तो कायक्रम सधै नआए पनि यसलाई निरन्तरता दिन सके पीडितलाई राहतको अनुभुति हुने बताउनु भयो ।

इन्सेक लुम्बिनि प्रदेश प्रमुख भोला महतले पीडितलाई न्यायमा पहुँचमा पुर्याउन मानव अधिकार सहायता कक्षले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले मानव अधिकार सहायता कक्षलाई प्रत्येक जिल्लामा नेटवर्क बनाउने प्रयास भइरहेको बताउदै यसलाई आगामि दिनमा निरन्तरता दिने प्रयास रहेको बताउनु भयो ।
उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका अध्यक्ष विकास आचार्यले मानव अधिकार सहायता कक्षले पीडितलाई गरेको सहयोगले न्यायिक पक्रियामा जानका लागि र अदालतसम्म आउने यातायात खर्च नभएकाहरूलाई सहयोग पुगेको बताउनु भयो ।
उपभोक्ता हित सङरक्षण समितिका जिल्ला अध्यक्ष अधिवक्ता बसन्त गौतमले मानव अधिकार रक्षकहरूलाई समेत चुनौति रहेकोले मानव अधिकार रक्षकहरूको सङ्रक्षणका विषयमा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
यसैगरी, घरेलु हिंसा पीडित बाँके जिल्ला खजुरा गाउँपालिका – ५ उढरापुरकी २३ वर्षीया अनिता कुमारी यादवलाई मानव अधिकार सहायता कक्षले मङ्सिर २६ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका प्रमुख झंकरबहादुर रावलले पीडितलाई सहयोग रकम प्रदान गर्नु भएको थियो ।
डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेक, नेपालगञ्जमा रहेको छ ।