सन् २०२० को १० महिनाको अवधिमा ५५ जना मानव अधिकार रक्षक पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।
७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २५ गते आयोजित मानव अधिकार रक्षकको अवस्थासम्बन्धी भर्चुअल छलफल कार्यक्रममा सो जानकारीदिइएको हो ।
इन्सेकले यो अवधिमा पत्रकार २५ जना, स्वास्थ्यकर्मी १६ जना, शिक्षक १० जना, सामाजिक कार्यकर्ता तीन जना र मानव अधिकारकर्मी एक जना गरी ५५ जना पीडित भएका घटना अभिलेख गरिएको जनाएको हो ।
छलफलमा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले मानव अधिकार रक्षकका सवालमा सरकारी संयन्त्रको क्रियाशीलतामा कमी भएको महसुस भएको बताउँदै थप क्रियाशील हुनु पर्ने बताउनु भयो ।
उहाँले कोभिड–१९ को महामारीको यो समयमा मानव अधिकार थप जोखिममा परेको समेत उल्लेख गर्नु भयो ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकार रक्षकको सुरक्षाका लागि सरकारी प्रयास बढाउनु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो–‘मानव अधिकार रक्षकका लागि कानुनी प्रावधान छ तर कार्यान्वयनको पाटोमा सुधारको खाँचो छ ।’
‘महामारीमा मानव अधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ भन्ने मूल नाराका साथ ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस देशभर विविध कार्यक्रम गरी मनाइरहेको पनि इन्सेकले जनाएको छ ।