नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मिक्लाजुङ गाँउपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले सो पार्टीका कार्यकर्ताले श्रेष्ठलाई मङ्सिर २३ गते बिहान ६:१५ बजेको समयमा घरबाट अपहरण गरी आधा घण्टा टाढा जङ्गलमा लगेर घाँटी रेटेर हत्या गरेको बताउनु भयो ।
प्रतिबन्धित नेकपाले एक विज्ञप्तिमार्फत विभिन्न ६ ओटा आरोप लगाउँदै मिक्लाजुङ गाँउपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्याको जिम्मा लिएको छ ।

मेचीकोशी व्यूरो इञ्चार्ज प्रतापका नाममा जारी विज्ञप्तिमा शिक्षक श्रेष्ठलाई सम्झाउन खोज्दा हतियारसहित जाइलागेका कारण प्रतिकारमा मारिएको उल्लेख छ ।
शिक्षक श्रेष्ठलाई ६ जनाको समूहमा आएका व्यक्तिले घरबाट अपहरण गरी लगेको र पछि जङ्गलमा शव फेला परेको मृतकका छिमेकी मदन श्रेष्ठले फोन सम्पर्कमा बताउनु भयो । कपडाले छोपिएको र चारैतिर रगत बगेको अवस्थामा शव देखेको उहाँले जानकारी दिनु भयो ।
घटनास्थलतर्फ गइरहेका पत्रकार सन्तोष गौतमले ६ जनाको समूहमा आएका व्यक्तिहरूले हात बाँधेर घरबाट शिक्षक श्रेष्ठलाई जङ्गलतर्फ लिएर गएको र हत्या गरेको भन्ने सूचना पाएको बताउनु भयो ।
(यसअघि गोली प्रहार गरी हत्या गरेको भनी प्रहरी स्रोतबाट आएको समाचारलाई प्रहरी स्रोतबाटै घाँटी रेटेर भनी सूचना आएकाले समाचार सच्याइएको छ ।–सं)