INSEC Online

📅 २०८३ जेष्ठ २१

आमाको हत्या गरेको कसुरमा छोरालाई जन्मकैद

सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीको हत्या गरेको कसुरमा ३४ वर्षीय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई जिल्ला अदालतले मङ्सिर १८ गते जन्मकैदको सजाय फैसला गरेको छ ।

न्यायाधीश सुर्यप्रकाश अधिकारीको इजलासले पुलामीलाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

खुकुरी प्रहार गरी ०७६ असार १९ गते साँझ आमाको हत्या गरेको आरोपमा पुलामी ०७६ साउन ९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ ।

तत्कालिन न्यायाधीश नन्दकिशोर प्रसाद यादवको इजलासले पुलामीलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो ।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको अवस्थामा धनमायाको शव घरमा फेला परेपछि प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको थियो ।

दुवै हातमा खुकुरी बोकेका आरोपितको शरीरभरी रगत लागेको अवस्थामा आरोपितलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको थियो ।

शवको पोष्टमार्टम रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा ०७६ असार २० गते गरिएको थियो ।

मोबाइलको रिचार्ज कार्ड किन्न बजार निक्लिएका बेला छोराले आमाको हत्या गरेको भन्दै मृतकका ६५ वर्षीय पति लोकबहादुर पुलामीले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७६ असार २० गते उजुरी दर्ता गराउनु भएको थियो ।

अन्य

भिडियो