कटारी नगरपालिका–८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा मङ्सिर १९ गते राति अज्ञात समूहले बम विष्फोट गराउँदा पाँच जना मजदुर घाइते भएका छन् ।
विष्फोटमा उद्योगमा कार्यरत कटारी नगरपालिका–८ का २४ वर्षीय बिष्णुबहादुर मगर, कटारी नगरपालिका–७ का २३ वर्षीय नविन मगर, उदयपुरगढी गाउँपालिका–२ का २५ वर्षीय दुर्गा तामाङ, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान र १८ वर्षीय शिवशङ्कर मोक्तान घाइते भएको डिएसपी भण्डारीले बताउनु भयो ।
घाइते सबैको कटारी अस्पतालमा उपचार गरी घर पठाइएको डिएसपी भण्डारीले बताउनु भयो ।
विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा १ ख ७९९२ नम्बरको स्काभेटर, नम्बर नखुलेको मोटरसाईकल एक ओटा पूर्णरूपमा जलेर नष्ट भएको छ ।
विष्फोटमा तीन ओटा स्काभेटरमा क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
खानीका कर्मचारी होम बस्नेतका अनुसार राति सबा १२ बजेको समयमा अपरिचित व्यक्तिको समूहले उद्योगको खानी क्षेत्रलाई लक्षित गरी राखेको बम विष्फोट हुँदा भाग्ने क्रममा मजदूरहरू घाइते भएको डिएसपी भण्डारीले बताउनु भयो ।
खानीका कर्मचारी होम बस्नेतका अनुसार राति सात जनाको टोली हल्लाखल्ला गर्दै आएर बम विष्फोट गराएका थिए । उनीहरूले खानीको स्काभेटरमा आगोसमेत लगाएको बस्नेतले बताउनु भयो ।
घटना लगत्तै डिएसपी भण्डारीको कमाण्डमा प्रहरी टोली परिचालन गरि एरिया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताउनुभयो ।
बम विस्फोटको जिम्मा कसैले नलिएको प्रहरीले जनाएको छ ।



