१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–२ कर्थलीका २२ वर्षीय राजु तामाङलाई प्रहरीले ०७७ मङ्सिर १६ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।
आरोपित तामाङले विवाह गर्छु भनि कात्तिक ३० गते पीडित बालिकालाई भक्तपुर जिल्लाको जगातीबाट फकाएर आफ्नो घर पुर्याएर बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडितका आफन्तले मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएका थिए । आरोपित तत्काल फरार भएकाले प्रहरीको खोजतलासपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते बाह्रविसे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको डिएसपी सापकोटाले जानकारी दिनु भयो ।