अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले बाल अधिकारमैत्री वातावरण प्रबर्धन गर्ने उद्देश्यले मङ्सिर १३ गते वीरेन्द्रनगर नपा १० स्थित मदरसा मदिना मावि वेलघारी र जनसेवा मावि घुस्रालाई तीन थान कम्प्युटर सहित स्वास्थ्य, खेलकुद र ज्ञानबर्धन पाठ्य सामग्री प्रदान गरेको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयकाफोकल पर्सन दिलबहादुर चौधरीका अनुसार मदरसा मदिना माविमा डेक्सटप कम्प्युटर २ थान, सेनेटरीप्याड मेसिन १ थान, सेनेटरी प्याड डिस्पोजल मेसिन १ थान, विभिन्न स्वास्थ्य तथा खेलकुदका सामग्री र २४ थान ज्ञानबर्धन पुस्तक प्रदान गरिएको छ ।

यस्तै जनसेवा मावि घुस्रामा डेक्सटप कम्प्युटर १ थान, स्वास्थ्य तथा खेलकुदका विभिन्न सामग्रीका साथै ४० थान ज्ञानबर्धन पुस्तक वितरण गरिएको पनि फोकल पर्सन चौधरीले जानकारी दिनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयका व्यवस्थापन शाखा प्रमुख सुभेच्छा खडकाले कम्प्युटर सहित स्वास्थ्य, खेलकुद र ज्ञानबर्धन पाठ्यसामग्री प्रदान गर्दै फिनल्याण्डका बालिबालिकाहरूले संकलन गरी जुटाएको रकमबाट सहयोग प्रदान गरिएको उल्लेख गर्दै सामाग्रीहरूको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

मदरसा मदिना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सजत खानले राज्यको उपेक्षामा परी वर्षौदेखि अभाव झेलिरहेको मदरसालाई इन्सेकले कम्प्युटर सहित स्वास्थ्य, खेलकुद र ज्ञानबर्धन पाठ्सामग्री उपलब्ध गराएको प्रति कृतज्ञता प्रकट गर्नु भयो ।
यस्तै जनसेवा मावि घुस्राका सहायक प्रधानाध्यापक कृष्ण थापाले इन्सेकले विगतदेखि नै शिक्षामा सहयोग गर्दै आएको स्मरण गर्दै यस सहयोगले विद्यालयको शिक्षाको गुणस्तर अभिबृद्धि गर्न ठूलो टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा वीननपा १० की सुनिता चौधरीले पनि इन्सेकले गरेको सहयोग प्रति आभार प्रकट गर्नु भएको थियो ।

कम्प्युटर सहित स्वास्थ्य, खेलकुद तथा ज्ञानबद्र्धक पाठ्य सामग्री प्रदान कार्यक्रममा इन्सेक कर्णाली संयोजक नारायण सुवेदी, इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत सम्झा श्रेष्ठ, मानव अधिकार सुदृद्धिकरण परियोजनाका संयोजक कृष्णप्रसाद नेपाल, लेखा अधिकृत सुधा पौडेल, जनप्रतिनिधि, विव्यसका पदाधिकारीहरू, शिक्षक, बाल क्ल्वका सदस्य, विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।
