बलात्कार घटनाका पीडितलाई इन्सेकले मङ्सिर ११ गते आर्थिक सहयोग गरेको छ ।
अपाङ्गता भएकी २७ वर्षीया छोरी ०७७ कात्तिक २ गते बलात्कारबाट पीडित भएपछि आर्थिक अवस्था कमजोर भएका कारण न्यायका लागि सदरमुकाम आउन जान समस्या भएको पीडित परिवारले बताएपछि इन्सेकले दश हजार रूपिँया सहयोग गरेको हो ।
जिल्ला अदालतको कार्यालयमा नेपाल बार एसोसिएशनका जिल्ला अध्यक्ष लालबहादुर रावत र जिल्ला अदालतका मुद्दा फाँट प्रतिनिधी रामबहादुर केसीको रोहबरमा पीडित महिला र उनका बुबालाइ इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले रकम हस्तान्तरण गर्नु भएको हो ।
सहयोग रकम ग्रहण गर्दै पीडितका बुबाले छोरीलाई न्याय दिलाउन इन्सेकको सहयोगले आफूहररूलाई ठूलो राहत भएको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो ।
घटनाका आरोपित शारदा नगरपालिका–१ शान्तिनगर निवासी ३२ वर्षीय शरद रेउलेलाइ प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
पीडित पक्षले आरोपित विरुद्ध कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको थियो ।