महोत्तरीको बर्दिवास नगरपालिका–१४ सुभम वस्ती निवासी सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्या र हत्या गरिएको विरोध प्रदर्शनमा मङ्सिर ९ गते प्रहरीको गोली लागेर बर्दिवास नगरपालिका–१ निवासी सञ्जय भनिने ३२ वर्षीय बुद्धिराज न्यौपानेको मृत्यु तथा अन्य व्यक्तिहरू घाइते भएको घटना सम्बन्धमा मानव अधिकारकर्मीको गम्भीर ध्यानाकर्षण भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, एडभोकेसी फोरम प्रदेश २, ओरेक धनुषा, महिला मानव अधिकार रक्षक सञ्जाल धनुषा र एमनेष्टि इन्टरनेशनल नेपाल महिला समूह ४६ ले मङ्सिर १० गते संयुक्त विज्ञप्ति जारी गरी बालिका हत्या र प्रहरीको गोली लागि मृत्यु तथा घाइते भएका घटनाको निष्पक्ष र स्वतन्त्र छानविन गरी घटनका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ–‘नेपालको संविधान २०७२ को धारा १६ मा मानिसको बाँच्न पाउने हकलाई सुनिश्चित गरेको छ । हिजोको घटनामा प्रहरीको गोली लागि एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य घाइते हुनुले सो संवैधानिक हकको उल्लङ्घन भएको देखिन्छ । सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा जनताको जिउ ज्यानको सुरक्षा गर्नु राज्यको प्रथम दायित्व हो । प्रहरीको गोली लागि न्यौपानेको मृत्यु हुनु तथा अन्य व्यक्ति घाइते हुनु दुःखद् घटना भएको हाम्रो ठहर छ ।”
घटनाका आरोपित गिरफ्तार भएको देखिएको र कानुनी प्रक्रियामा गइसकेको हुनाले प्रदर्शनकारीलाई पनि संयमित भई आफ्ना मागहरू राख्न तथा राज्यलाई नागरिकको हक अधिकार सुनिश्चितता गर्नका लागि संयम भई माग राख्न मानवअधिकारकर्मीहरूले विज्ञप्तिमार्फत अनुरोध गरेका हुन् ।
घटनाका दोषीलाई कानुन बमोजिम कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारलाई मानव अधिकारकर्मीहरूले अनुरोध गरेका छन् ।
