INSEC Online

📅 २०८३ जेष्ठ २१

६ वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला, हत्या विरोधमा राजमार्ग अवरुद्ध

बर्दिबास नपा–१४ शुभम् बस्तीबाट मङ्सिर ७ गते हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्या गरिएको अवस्थामा मङ्सिर ८ गते राति शव फेला परेको छ ।

मङ्सिर ७ गते साँझदेखि बस्तीबाटै हराएकी बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईँले बताउनु भयो । बालिकालाई हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव फेला परेको उहाँले बताउनु भयो ।

बर्दिबास नपा–१४ शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण सङ्घ महोत्तरीको कार्यालय भन्दा पश्चिम विकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो ।

‘बालिकाको हत्या आरोपमा गौशाला नपा–५ का २५ वर्षीय अरुणकुमार साहलाई हामीले गिरफ्तार गरेका छौँ ।’–डिएसपी चापागाईँले भन्नु भयो–‘हो । मैले नै बालिकाको हत्या गरेको हुँ । भनी आरोपितले स्वीकार गरेका छन् ।’

‘मेरो छोरीको बलात्कार गरी हत्या गरेर लास फालेको हामीलाई शङ्का लागेको छ ।’–बालिकाका बुवा शहिद आलमले इन्सेक महोत्तरी प्रतिनिधिलाई बताउनु भयो ।

मङ्सिर ८ गते साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपितले बालिकाको हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।

हत्या विरोधमा राजमार्ग अवरुद्ध
गुलबसा खातुनको हत्याको विरोध गर्दै स्थानीयहरूले बर्दिबास नगरपालिका स्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।

स्थानीयले ‘बलात्कारी हत्यारा’लाई कारबाहीको माग गर्दै आरोपितको घरमा समेत ढुङ्गामुढा गरिरहेका छन् ।

घटनाको प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयले आशङ्का गरेका छन् । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र रिपोर्ट प्राप्त भएपछि मात्रै घटाका बारेमा थप भन्न सकिने इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी चापागाईँले बताउनु भयो ।

अन्य

भिडियो