३३ वर्षीया महिलालाई बेचबिखन तथा ओसार पसार र शरिर बन्धक गरेको आरोपमा पीडितपक्षले कोहलपुर नगरपालिका–११ का ४० वर्षीय देवबहादुर दमाई विरूद्ध कात्तिक २४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दर्ता गराएका छन् ।
पीडितलाई आरोपितले ०७७ भदौ १३ गते बैदेशिक रोजगारीको लागि इजरायल पठाउने भन्दै भारतमा लगेर बेचबिखन गरेको र बन्धक बनाएर राखेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । उहाँले भारतबाट लुकिछिपि भागेर नेपाल आएको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका सइ रणधिर जैसीले उजुरीका आधारमा आरोपितको खोजी भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २५ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।