पर्वत जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा मुद्दा फैसला हुन नसक्दा झनै पीडित बन्दै गएका छन् ।
कोभिड–१९ को सङ्क्रमण फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणहरूले समयमा न्याय पाउन सकेका छैनन् ।
पर्वत जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ४ सय ७२ मुद्दा दर्ता भएपनि असार मसान्त सम्ममा २ सय ७१ मुद्दामा मात्रै सुनुवाइ भएको छ ।
त्यस्तै अघिल्लो आर्थिक वर्षबाटै चालु आर्थिक वर्ष ०७७/०७८ मा जिम्मेवारी सरेर आएका २ सय १ र चालु वर्षको असोज मसान्त सम्म नयाँ दर्ता भएका मुद्दा ७० थान गरी अहिले पर्वत जिल्ला अदालतमा २ सय ७१ मुद्दा कानुनी प्रक्रियामा रहेका छन् ।
लामो समयसम्मको कोभिड–१९ को प्रभावका कारण विभिन्न प्रकृतिका मुद्दामा दुवै पक्ष उपस्थित हुन नसक्दा मुद्दा फैसला हुन ढिलाइ भएको पर्वत जिल्ला अदालतका तहसिलदार नन्दप्रसाद आचार्यले बताउनुभयो ।
‘दुवै पक्ष उपस्थित हुन सम्भव भएका केही मुद्दाहरू मेलमिलाप कक्षबाट फछ्र्यौट भएपनि लामो समय सम्मका मुद्दाहरू प्रक्रियागत रूपमा नै छन्’ आचार्यका अनुसार विशेष गरी जिल्ला बाहिर रहेर न्यायिक प्रक्रियामा रहेका व्यक्तिहरू लकडाउनका कारण उपस्थित हुन नसक्दा समस्या भएको हो ।
११ चैत्र ०७६ बाट असार मसान्तसम्म मात्रै २२ मुद्दा पर्वत जिल्ला अदालतमा दर्ता भएको तथ्याङ्क छ । जस अनुसार यो लकडाउनको अवधिमा तीन ओटा मुद्दा मात्रै फछ्र्यौट भएका छन् ।
चालु आर्थिक वर्षको साउन देखि असोज सम्म सामान्य प्रकृतिका २५ मुद्दाहरू फैसला भएपनि न्याय खोज्दै अदालत आएका व्यक्तिहरू कोभिड–१९ को प्रभावले लामो समयदेखि पर्खाइमा नै रहनुपर्ने अवस्था छ ।
पर्वतको जलजला गाउँपालिकाकी २२ वर्षीया बलात्कार घटना पीडित युवतीले पाँच महिना देखि आफू फैसलाको पर्खाइमा बसिरहेको बताउनुभयो ।
‘लामो समय सम्म मुद्दा फैसला नहुँदा दोषीले सजाय पाउने हो कि होइन भन्ने चिन्ता लाग्न थाल्यो ।’–उहाँले गुनासो गर्नुभयो ।
कतिपय मुद्दाहरूमा निर्दोष व्यक्तिहरू पनि आरोपित बनेर कानुनी दायरामा आएको र लामो समयसम्म मुद्दा विचाराधिन रहँदा ती व्यक्तिहरू पनि समस्यामा रहेको पर्वत जिल्ला अदालत बार इकाइका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
