INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाचरमा चित्त नबुझेपछि पत्रकार बोहरालाई मार्ने धम्की

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहोरालाई प्रकाशित समाचारका विषयमा चित्त नबुझेपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैङ्कका इञ्चार्ज गणेश ऐरले मार्ने धम्की दिएको पीडितले आरोप लगाउनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाका कार्यसमिति सदस्य तथा इन्फोखबर अनलाइनका प्रकाशक बोहोरालाई ‘ब्लड बैङ्क डडेल्धुराको चरम लापरवाही, रक्तदान गर्न ८ घण्टासम्म भेटिएन् कर्मचारी’ भन्ने शीर्षकको समाचार लेखेको भन्दै धम्की आएको पीडितको भनाइ छ ।

समाचार मिडियामा आएपछि कात्तिक १८ गते ९ बजे आरोपितले ‘तिमी समाचार लेख्ने को हो ? तिमीलाई म कोठामा थुनेर बन्द गरेर मारीदिन्छु ।’ भनी फोनमार्फत धम्की दिएको पीडितले आरोप लगाउनु भयो ।

यसैबिच आरोपितविरूद्ध पीडितले कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दिनु भएको छ ।

प्रहरी कार्यालयमा उजुरी परेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले घटनाबारे अनुसन्धान बढाइने बताउनु भयो ।

पत्रकारसँग सम्बन्धित सङ्घसङ्गठनले घटनाको विरोध गर्दै धम्की दिनेलाई कडा कारवाहीको माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलद्वारा कात्तिक २१ गते प्रेषित प्रेस विज्ञप्तिमा–‘आम नागरिकलाई सुसूचित गराउने कार्यमा संलग्न पत्रकारलाई समाचार लेखेकै कारण यस्तो धम्की दिने व्यक्तिलाई कानुनी कारवाहीको माग गर्दै स्वतन्त्र पत्रकारिताको ग्यारेण्टीका लागि सरोकारवाला पक्षलाई अनुरोध छ ।’

अन्य

भिडियो