श्रमको मूल्य दिलाइन दिन माग गर्दै निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले श्रम कार्यालयमा निवेदन दिएपछि सो कार्यालयले निजी विद्यालयका सञ्चालकहरूलाई शिक्षक तथा कर्मचारीहरूको पारिश्रमिक दिन कात्तिक ३ गते निर्देशन दिएको छ ।
निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले गएको चैतयता पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालयमा कात्तिक २ गते उजुरी दिएका थिए । शिक्षक तथा कर्मचारीहरूको उजुरीपछि श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले शिक्षक तथा कर्मचारीहरू पाउनुपर्ने सुविधा नपाए सञ्चालक तथा पदाधिकारीहरूलाई कानुन अनुसार कारवाही गरिने बताउनुभयो । उहाँले शिक्षक तथा कर्मचारीलाई तलब नदिए निजी विद्यालय तथा सञ्चालकको बैङ्क खाता रोक्काको प्रक्रिया शुरू गरिने बताउनु भयो ।
श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ ले तोकेको सम्पूर्ण सेवा सुविधाहरू तुरून्त उपलब्ध गराउन भनिएको सञ्जेलले बताउनुभयो । लामो समयदेखि तलव सुविधा नपाएपछि संस्थागत विद्यालयहरूको छाता संस्था प्याब्सन मोरङको मूल ढोकामा शिक्षकहरूले कात्तिक २ गते तालाबन्दी गरेका छन् ।
विद्यालय सञ्चालन नभएको कारण देखाउँदै निजी लगानीमा सञ्चालित संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले तलब सुविधा नपाएको भन्दै श्रम कार्यालयमा उजुरी दर्ता गरी तालाबन्दी गरिएको संस्थागत विद्यालय शिक्षक यूनियन मोरङका अध्यक्ष मनोज खनालले बताउनुभयो ।
आफ्ना समस्याका बिषयका सरकारले बेवास्ता गरेको र प्याब्सनले समेत अपमानित गर्नेगरी सर्कुलर गरेको भन्दै प्याब्सन मोरङको कार्यालयमा तालाबन्दी गर्नु परेको अध्यक्ष खनालले बताउनु भयो ।
शिक्षक तथा कर्मचारीहरूले ०७६ चैत देखिको बाँकी बक्यौतासहित ०७७ वैशाखदेखि असोज समान्तसम्मको खाइपाई आएको तलब, भत्ता र पर्व खर्च माग गरेका छन् ।

