२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–११ का ४८ वर्षीय शेक्पा भनिने रामसेवक चौधरीलाई प्रहरीले २७ वर्षपछि असोज २९ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०५० कात्तिक २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश विनोदप्रसाद शर्माको ०५८ फागुन ८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
मुद्दाको फैसला भएपनि कसुरदार प्रहरी वा अदालतको सम्पर्कमा नआएका कारण कसुरदारलाई फरार सूचीमा राखि म्याद तामेल गराएर मुद्दा मुलतवी अघि बढाएको जिल्ला अदालतका सूचना अधिकारी राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
गोप्य सूचनाका आधारमा घटना भएको २७ वर्षपछि अदालतबाट मुद्दाको फैसला भएका कसुरदारलाई उदयपुरगढी गाउँपालिका– १ स्थित बाहुनीटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देवप्रसाद गौतमले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०५० कात्तिक २५ गते गरिएको थियो ।