कोभिड सङ्क्रमणको कारण क्वारेण्टिन बनाइएका विद्यालय अझै बन्द छन् । बन्दका कारण लामो समयदेखि बालबालिकाले पढ्न पाएका छैनन् ।
अहिले सामुदायिक सिकाइ केन्द्र मार्फत गाउँ–गाउँमा पढाइ सञ्चालन गरिएको छ । बस्ने भवन नभएका कारण बालबालिका चिसो भुइ र जङ्गलमा बसेर पढ्न बाध्य छन् ।
इस्मा गाउँपालिका– ५ चाँपटारीको कुमारी निमाविले तीन वटा सिकाइ केन्द्र मार्फत पढाई सञ्चालन गरेको छ । त्यस मध्येका करिब ३० जना बिद्यार्थी चाँपटारीको जङ्गलमा बसेर पढ्छन् ।

बालबालिका कसैले गुन्द्री ओछ्याएका थिए भने अधिकांश रुखका स्याउला बिछ्याएरै बसेका थिए । विद्यार्थीले रुखको ओत पाएपनि बसाई सजिलो थिएन् । अप्ठ्यारोकैबिच विद्यार्थी र शिक्षिका अध्ययन अध्यापनमा व्यस्त थिए ।
तत्काल विद्यालय सञ्चालन नहुने भएपछि इस्मा गाउँपालिकाले असोज ११ गतेबाट प्रत्येक टोल–टोलमा सिकाइ केन्द्र स्थापना गरेर पढाई सञ्चालन गरेको शिक्षिका राधिका सापकोटाल भण्डारीले बताउनु भयो ।
सडक छेउको जङ्गलमा कुमारी निमाविका कक्षा २ देखि ७ सम्मका ३० जना विद्यार्थीले पढदै आएका छन् । विद्यार्थीलाई टोल विभाजन गरेर दिउँसो ११ देखि २ बजेसम्म पढाउँदै आएको शिक्षिका सापकोटाले जानकारी बताउनु भयो ।
‘परिस्थतिनै अप्ठ्यारो पर्यो शिक्षक विद्यार्थी दबैलाई सजिलो छैन,’उहाँले भन्नुभयो,‘दिउँसोको टन्टलापुर घाममा बाहिर असजिलो भएर जङ्गल रोजेका हौ ।’

बुल्म प्राविका कुमाल विद्यार्थी अरू बेला पनि कम मात्रै विद्यालय आउँछन् । अहिले विद्यालयकै चौरमा समुह बनाइ एक दिन बिराएर पढाउन थालिएको छ । असोज २१ गते इन्सेककर्मी विद्यालय पुग्दा चौरमा एक हुल विद्यार्थी शिक्षक शिक्षिकाको प्रतिक्षामा थिए ।
सोही दिन पालो परेका विद्यार्थीहरू झोला बोकेर विद्यालयको प्राङ्गणमा थिए । दुई जना शिक्षिकाले ११ बज्ने बित्तिकै दुई समुहमा विद्यार्थीलाई गोल घेरामा बसाले ।
अधिकांशसँग बिछ्याउने केही थिएन् । पढ्दै आएको छेउँकै विद्यालय बन्द छ । तर, खुल्लाचौरमा चिसो भुईमा बसेर उनीहरूले भविष्यको सपना खोज्न बाध्य छन् ।
गाउँपालिकाको निर्देशन अनुसार एक दिन बिराएर समुहमा बालबालिका चौरमा पढाएको बुल्म प्राविको निमित्त प्रध्यानाध्यापक माया महत कुवंरले बताउनु भयो ।

बुल्ममा अधिकांश कुमाल समुदायको बसोबास छ । विपन्नताका कारण अभिभावक दैनिक गाउँकै मेलापातमा व्यस्त हुन्छन् । अभिभावक वा छोराछोरी कसैले पनि पढाई प्रति वास्ता राख्दैनन् ।
उनीहरू आमाबुबासँगै मौषमी व्यापारमा हिड्ने गरेको बुल्म प्राविकी शिक्षिका सरस्वती पोख्रेलले बताउनु भयो । उहाँले बुबाआमाहरूमै शैक्षिक चेतना कम भएकाले बालबालिका विद्यालय अनुपस्थित हुने र विद्यालय छोड्ने अवस्था रहेको बताउनु भयो ।