स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसी र सरककारबीच भएको सहमतिपछि डाक्टर केसीले असोज २५ गते १९ औँ आमरण अनशन तोड्नु भएको छ ।
त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिई २८ औँ दिनमा केसीले अनसन तोड्नु भएको हो ।
डाक्टर गोविन्द केसीले असोज २४ गते राति सरकारसँग आठ बुँदे सहमति गरेपछि मात्रै अनशन तोड्नु भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डाक्टर केसीले हस्ताक्षर गर्नु भएको छ ।
चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरू राख्दै डाक्टर केसीले ०७७ भदौ २९ गतेदेखि जुम्लाबाट १९ औँ अनशन सुरु गर्नुभएको थियो ।
उहाँलाई अनशनरत अवस्थामै आठौँ दिन असोज ५ गते काठमाडौँ ल्याइएको थियो । उहाँलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा उपचारको लागि भर्ना गरिए पनि अनशनलाई निरन्तरता दिनु भएको थियो ।
अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरूले फेरि आमरण अनशन बस्न नपरोस लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । डाक्टर केसीसँग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने र सम्झौतामा धोका हुन नहुने उनीहरूको भनाइ थियो ।