अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भदौ २९ गतेदेखि अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएकोप्रति गम्भीर ध्यानकर्षण भएको आयोगले असोज २१ गते एक विज्ञप्ति जारी उल्लेख गरेको छ ।
आयोगले विज्ञप्तिमा डाक्टर केसीसँग यस अघि सरकारले गरेका सम्झौताहरू र त्यसको कार्यान्वयनको स्थिति सार्वजनिक गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।
डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासो नदिएको भन्दै आयोगले विगतमा गरिएका सम्झौताको पालना गर्न र उनको स्वास्थ्य तथा उचित मागहरूप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।
यस अघि आयोगको बाग्मती प्रदेश कार्यालयको टोलीले त्रिवि शिक्षण अस्पताल पुगेर डाक्टर केसीको अवस्थाबारे अनुगमन समेत गरेको थियो । सो अनुगमन टोली डाक्टर केसीको स्वास्थ्य अवस्थालाई सरकाले गम्भीरतापूर्वक नलिएको निश्कर्ष निकालेको जनाएको छ ।
आयोगले वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्दछ । साथै आफ्ना मागहरू पुरा गराउन अमरण अनशन जस्तो जीवन नै जोखिममा पार्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोग अनशनरत डाक्टर केसीलाई आग्रह गर्दछ ।’