सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ जारी गरेको छ । एसिड आक्रमणका पीडकहरूमाथी कडा कारबाही गर्न भन्दै तयार गरिएको अध्यादेश असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण जारी गर्नुभएको हो ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्नेलगायत प्रावधान राखिएको छ ।
त्यस्तै फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ ।
अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ । त्यस्तै पीडितलाई पीडककै ज्यायजेथा मार्फत १० लाख क्षतिपुर्ति दिलाउने व्यवस्था गरिएको छ । यस्तै एसिड बिक्री वितरण गर्न अब जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था समेत गरिएको छ ।
अध्यादेश जारी भएपछि एसिड आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनले सरकारले ल्याएको कानुनले आफूहरू जस्ता पीडितहरूलाई न्याय हुने र यस्ता जघन्य आक्रमणका घटनाहरू नियन्त्रण हुने आशा पलाएको बताउनुभयो ।