घरेलु हिंसा पीडित खार्पुनाथ गाउँपालिका–१ देउकुडीकी ३२ वर्षीया छाया जैसीलाई इन्सेकको सहजीकरणमा घरैमा पुनर्मिलन गराइएको छ ।
पीडित महिलालाई ३३ वर्षीय पति लालप्रसाद जैसीले असोज ४ गते कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले इन्सेक हुम्ला प्रतिनिधिलाई असोज ५ गते न्यायका लागि पहल गरिदिन निवेदन दिनु भएको थियो ।
आठ वर्षदेखि पटकपटक कुटपिट गर्ने, छोराछोरी र आपूmलाई समेत खानलाउन नदिने र हेरचाहसमेत नगरेकाले न्यायका लागि इन्सेकसमक्ष आएको पीडित महिलाले बताउनु भयो ।
असोज ४ गते चिरपटले कुटपिट गरी घर निकाला गरेपछि न्याय खोज्न अधिकारकर्मीसमक्ष आउनु परेको उहाँको भनाइ छ ।
यसअघि बेलाबेलामा कुटपिट हुने गरेको भएपनि गाउँले र खार्पुनाथ गाउँपालिका–१ का वडा अध्यक्ष समेतले मिलापत्र गराउँदै आएको भए पनि सो कार्यान्वयन नभएको पनि पीडित महिलाले बताउनु भयो ।
असोज ५ गते इन्सेकलाई लिखित रुपमा अनुरोध गरेपछि इन्सेकले सोही दिन खार्पुनाथ गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिकी संयोजक रुपा शाहीलाई सो विवाद मिलाउनका लागि अनुरोध गरेपछि असोज ६ गते सिमकोट गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा उपाध्यक्ष शाही, अल्पाकालिन सेवा केन्द्रकी प्रमुख कार्मा इटोल लामा, इन्सेक प्रतिनिधि नन्दसिंह लगायतको छलफलमा दुवै जनालाई राखेर एकआपसमा मिलापत्र गराइएको हो ।
मिलापत्रमा पतिले पत्नीप्रति मायाप्रेमलगायतका जिम्मेवारी र कर्तव्य पुरा गर्नु पर्ने, छोराछोरीलाई पर्याप्त मात्रामा खानालाउन दिनुपर्ने, कुटपिट तथा कुनै किसिमका झैझगडा नगर्ने लगायतका शर्त राखिएको थियो ।
सबै शर्तमा मञ्जुरी जनाएर लालप्रसाद जैसीले माफी मागेपछि पीडित महिलाको पुनर्मिलन सम्भव भएको हो ।
कुटपिटका कारण सामान्य चोटपक लागेकी पीडित महिलाको उपचार इन्सेक प्रतिनिधिको पहलमा अल्पकालिन सेवाले केन्द्र हुम्लाले गरेको थियो ।