१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलागुफा नपा–११ ढिम्नीयाका २२ वर्षीय वीरेन्द्र शाहीलाई प्रहरीले असोज ७ गते गिरफ्तार गरेको छ ।
पीडितले आरोपित शाहीविरूद्ध भदौ ३१ गते गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएको भएपनि प्रक्रियामा ढिला हुँदा आरोपित गिरफ्तार गर्न समय लागेको डिएसपी चक्रबहादुर शाहीले बताउनु भयो ।
पीडित बालिकालाई कालिकोटस्थित रणसुर गुल्मका जवान शाहीले भदौ १३ गते बलात्कार गरेको पीडितको आरोप छ ।
पीडितले भदौ ३१ गते नै उजुरी दिएपनि प्रहरीले दर्ता गर्न ढिलाइ गरेको थियो । इन्सेकको पहल र सहयोगले प्रहरीले उजुरी दर्ता गरेर आरोपितलाई गिरफ्तार गरेको पीडित बालिकाले बताइन् ।
पीडित बालिकाले अवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहयोगको माग गर्दै मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेकमा असोज ३ गते निवेदन दिएकी छन् ।
पीडितको स्वास्थ्य परीक्षण असोज २ गते गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख भिष्म पाख्रेलले बताउनु भएको थियो ।