२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फारममा काम गर्ने तीन जना पुरुषलाई असोज ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले असोज ५ गते पत्रकार सम्मेलन गरी जनाएको छ ।
बलात्कारको आरोपमा गिरफ्तार गरिएकाहरूमा महाभारत गाउँपालिका–१ घर भई २२ वर्षीय विशाल आले र हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बंगालका २३ वर्षीय रघुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गाविन्द अधिकारीले जानकारी दिनु भयो ।
आरोपित खड्काले असोज २ गते र अन्य आरोपितले त्यस भन्दा अघि पटक/पटक आफ्नै कोठमा आई डर, त्रास धम्की दिई बलात्कार गरेको भन्दै पीडितले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
आरोपितहरूलाई छुट्टाछुट्टै करणी सम्बन्धी कसूर दफा २१९ जबरजस्ती करणी गर्न नहुने शिर्षकमा २०७७ असोज ४ मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।
पीडित महिलाको धुलिखेल अस्पतालमा असोज ३ गते स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर अधिकारीले जानकारी दिनुभयो ।