१७ वर्षीया बालिकालाई धनुषाधाम नपा–३ का ५२ वर्षीय राममान श्रेष्ठ र ४५ वर्षीय भरतमान श्रेष्ठले दुई वर्षदेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन ३२ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ २३ गते दिएको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप छ ।
पीडित बालिकालाई आरोतिद्वयले ललाइफकाई पटकपटक बलात्कार गर्दै आएकोले न्यायका लागि उजुरी दिएको पीडित बालिकाले असोज ४ गते इन्सेक धनुषा प्रतिनिधिलाई बताइन् ।
घटनाबारे कसैलाई भने ज्यान लिने धम्की दिएका कारण पीडित बालिकाले घटना लुकाउँदै आएको बताएकी छन् ।
महिला अधिकारकर्मी गुन्जा रायले पीडित परिवारलाई प्रहरी प्रशासन र राजनीतिक दलका स्थानीय कार्यकर्ताले घटना गाउँमै मिलाउन प्रयास गरिरहेको इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।
पीडित बालिकालाई अहिले जनकपुरधामस्थित एक सुरक्षित आवास गृहमा राखिएको पनि उहाँले बताउनु भएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरधाममा भदौ २३ गते गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतले बताउनु भयो ।
घटनाबारे जानकारी पाएपछि अनुसन्धान थालिएको र हाल अनुसन्धान भइरहेको एसपी बस्नेतले बताउनु भयो ।