संविधानविद् काशिराज दाहालले संविधान कार्यान्वयनमा केही सुधारको आवश्यकता रहेको भएपनि पाँच वर्षको उपलब्धिलाई उत्साहजनक रहेको बताउनु भएको छ ।
इन्सेक अनलाइनसँग कुरा गर्दै दाहालले संविधान कार्यान्वयनको व्यवहारिक पक्षमा सुधार रहेको बताउँदै राजनीतिक दलहरूमा लोकतान्त्रिकीकरणको आवश्यकता कायमै रहेको बताउनु भयो ।
राजनीतिक शक्तिहरूले नै संविधानलाई जीवन्त बनाउने हुँदा दलहरूको आन्तरिक व्यवस्थापन र लोकतान्त्रिकीकरण बिना संविधानको कार्यान्वयन पक्ष सुदृढ नहुने दाहालको भनाइ छ ।
उहाँले भन्नु भयो–‘दलीय लोकतन्त्र जति बलियो संविधान कार्यान्वयन उति नै चुस्त हुन्छ र यसको कार्यान्वयन पनि उत्कृष्ट हुन्छ ।’
नेपाली नागरिकका प्रतिनिधिले संविधान जारी गरेको पाँच वर्ष पुरा भएको अवसरमा इन्सेक अनलाइनसँग कुरा गर्दै जनजताले अनुभूती हुने गरी सुशासनको आवश्यकतामा जोड दिनु भयो ।
‘यस अघिका संविधानमा नागरिकको अपनत्व नभएको हुनाले नै संविधान सभाका माध्यमबाट नयाँ संविधान जारी गरिएको हो । आवश्यकता, औचित्यता र सापेक्षतामा संविधानमा रहेका विमतिलाई सुधार गर्दै अगाडि बढ्न सकिने कुरा संविधानमा नै सुनिश्चित गरिएकाले यो संविधानलाई राम्रो मानिएको हो । परिवर्तनशीलतालाई आत्मसात गर्ने क्षमता यो संविधानमा छ ।’–उहाँले भन्नु भयो ।