INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजिएको भन्दै अधिकारकर्मीद्वारा प्रहरीमा उजुरी

बागलुङको काठेखोला गाउँपालिका–३ की मानवअधिकारर्मी ३१ वर्षीया सावित्री खड्काले  आफूलाई सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजिएको भन्दै बागलुङ नगरपालिका–४ कुँडुलेका २९ वर्षीय चन्द्रकान्त पौडेल र सोही ठाउँका ३५ वर्षीय विवेक हमालविरुद्ध भदौ २४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिनुभएको छ ।

पीडित खड्काले आफ्नो आत्मसम्मान इज्जत, पेशा र व्यवसायमा गम्भीर आघात पुर्याउने गरी सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो र स्टाटस सार्वजनिक गरेको भन्दै क्रसर व्यवसायी समेत रहेका हमाल र  पौडेलविरुद्ध प्रहरीमा उजुरी दिनुभएको हो ।

द्वन्द्व पीडित राष्ट्रिय महिला सञ्जालकी सचिव, सङ्कल्प गण्डकी प्रदेशको प्रदेश अध्यक्ष समेत रहेकी खड्काले आफू विगत १४ वर्षदेखि एड्भोकेसी फोरम, जवाफदेहीताको लागि असल छिमेकी, नेपाल कानुन समाज लगायतका विभिन्न फोरममा काम गर्दे आएको बताउनुभयो ।

उहाँले आफैले काम गर्ने चेम्बरका अधिवक्ता राम शर्मा समेतलाई जोडेर आफ्नो अनुमति बिना भिडियो निर्माण गरी हमालले पटक–पटक धम्की समेत दिने गरेको उजुरीमा उल्लेख गर्नुभएको छ ।

पीडितले जिल्ला प्रहरी कार्यालय बागलुङ मार्फत महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको उजुरीमा सामाजिक सञ्जालको दुरूपयोग गरी आत्म सम्मानमा चोट र सार्वजनिक बेइज्जती गर्ने मनसाय राखी जानी जानी सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्वका सामग्री लेखी घृणा वा द्वेष फैलाइ सार्वजनिक बेइज्जती गरेकाले निजहरूलाई पक्राउ गरी विद्युतिय कारोबार ऐन २०६३ को दफा ४७ (१) नं. बमोजिम कारवाही गरी गर्न माग गर्नुभएको छ ।

आफूले काम गर्ने चेम्बरका अधिवक्ता राम शर्माले पटक–पटक कालीगण्डकी नदी दोहनको विषय उठाएको र कालीगण्डकी दोहनसँग विवेक हमाल समेत जोडिएकाले शर्मासँग बदला लिनको लागि आफूलाई बदनाम गर्न खोजिएको खड्का्ले बताउनुभयो ।

हमालले भिडियो निर्माण गरी पौडेलको फेसबुक मार्फत सार्वजनिक गरेको खड्काले बताउनुभएको छ ।

उहाँले भिडियो निर्माण गर्ने हमाल र सार्वजनिक गर्ने पौडेललाई कानुन बमोजिम कारबाही गर्न माग गर्नुभएको र आफूमाथि गरिएको प्रहार सम्पूर्ण मानव अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरूको लागि समेत अपमान भएको बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले भदौ २४ गते आरोप लगाइएका चन्द्रकान्त पौडेललाई  नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

पौडेलले खड्काको मात्र नभएर जिल्लाका अन्य पत्रकार, सांसद र मन्त्री समेतको बदनाम गर्ने गरी सामाजिक सञ्जाल मार्फत केहि दिनदेखि प्रचार प्रसार गरिरहेको भएर नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको र खड्काको उजुरी माथि महानगरीय प्रहरी परिसर काठमाडौले अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो