चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको कुटाईबाट गम्भीर घाइते भई मृत्यु भएको भनिएका राप्ती नपा–२ का राजकुमार चेपाङको परिवारले भदौ २३ गतेसम्म राहत रकम पाएको छैन । मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भनी साउन १६ गते जिल्ला प्रशासन कार्यालय चितवनमा सहमति भएको थियो । सहमति भएको ४० दिन पुगेको छ । परिवारलाई राप्ती नगरपालिकाले ३ लाख र निकुञ्जले ७ लाख दिने भनी सर्वपक्षिय सहमति भएको थियो ।

मृतक राजकुमारका बुवा विष्णलाल चेपाङले आफूले बनाउन थालेर पनि अधुरै रहेको घर बनाउने काम भइरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘राप्ती नगरपालिकाका उपमेयर इमानसिँह लामाको सहयोगमा घरको काम सकिन लागेको छ । राहत स्वरुप प्राप्त खाद्यन्नले खान त पाइएकै छ ।’ तर सरकारले दिने भनेको राहत रकम भने नपाएको उहाँले बताउनु भयो ।
यसै गरी राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले इन्सेक चतिवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीसँग भदौ २३ गते कुरा गर्दै पीडित परिवारसँग मृतकको विषयमा आवश्यक कागजा
त जुटाउने काम भइरहेको बताउनुभयो । सहमति भए अनुसार पीडित परिवारले सहयोग पाउनेमा ढुक्क हुनुस्, अहिले के कसरी दिन सकिन्छ भनेर आवश्यक कागजात सङ्कलनको काम भइरहेको छ, मेयर बरालले भन्नुभयो ।
आफ्नो स्थानीय तहको नागरिकको हरेक कोणबाट सुरक्षा र सहानुभुति प्रकट गर्ने नगरपालिकाको कर्तव्य रहेको उल्लेख गर्दै प्रमुख बरालले गरिब, निमुखा सबै वर्ग र जातका मानिसहरूको कल्याणमा आफूहरू प्रतिवद्ध रहेकाले रकम नपाउने वा नदिने भन्ने विषयमा कु
नै शङ्का गर्न नपर्ने बताउनुभयो ।
त्यस्तै सहमति अनुसार चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले ७ लाख रुपैयाँ दिनुपर्ने हुन्छ । निकुञ्ज प्रमुख अणनाथ बरालका अनुसार एक हप्ता अघि मात्रै पीडित परिवारको तर्फबाट राहत रकम पाउनका लागि कार्यालयमा निवेदन परेको छ ।
‘निकुञ्जसँग यस्ता घटनाहरूमा दिने भनी रकम तोकिएको वा विनियोजित भएको हुँदैन, प्रमुख बरालले भन्नुभयोे, ‘हामी रकमको स्रोत खोजी रहेका छौँ, यसका लागि माथिल्लो निकायमा पनि छलफल भइरहेको छ ।’ यथासक्य छिटो स्रोत व्यवस्थापन गरेर सहमति अनुसार रकम दिन तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो ।
यस घटनामा अनुसन्धान प्रक्रिया निरन्तर चलिरहेको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले पोष्टमार्टम र भिसेरा परीक्षणको रिर्पोट प्राप्त भइसकेको बताउनुभयो । ‘दुई ओटा रिर्पोट पाएपछि अनुसन्धानले थप तिव्रता लिएको छ, उहाँले भन्नुभयो । यस घटनामा कोही पनि गिरफ्तार भने भएका छैनन् ।
निकुन्ज क्षेत्रमा निगुरो र घुँघी खोज्न गएका स्थानीय युवाहरूलाई सेनाका जवानले साउन १ गते कुटपिट गरी यातना दिएको भए पनि हप्ता दिनसम्म गुपचुप रहेको घटना राजकुमार
चेपाङ गम्भीर बिरामी भएपछि साउन ७ गते मात्र सार्वजनिक भएको थियो । निज राजकुमार चेपाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा साउन ८ गते मृत्यु भएको थियो ।
यस घटनामा राप्ती नगरपालिका–२ मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजा घाइते भएका थिए । पोष्टमार्टमका लागि राजकुमारको शव साउन ११ गते राती टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव पोष्टमार्टम साउन १२ गते गरिएको थियो । पीडित परिवारले साउन १६ गते भएको सम्झौतापछि मात्र काठमाडौँबाट शव बुझेर ल्याई गाउँमै १७ गते दहासंस्कार गरिएको थियो ।